एमाले म्याग्दीका नेता शर्माको केन्द्रिय सदस्यमा उम्मेदवारी

  • ९ मंसिर २०७८, बिहीबार
  • 536 पटक पढिएको

म्याग्दी ९ मङ्सिर । नेकपा एमाले म्याग्दीका नेता नवराज शर्माले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको छ । शुक्रवारदेखि चितवनमा सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशनबाट चयन हुने कमिटीमा शर्माले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

‘‘भूगोल र खुलातर्फ कहाँ उम्मेदवारी दिने टुंगो लागिसकेको छैन, पार्टीका नेता र साथिहरुसंग छलफलमै छु, अघिल्लो महाधिवेशनमा समेत केन्द्रिय सदस्य लडेको थिए, यस पटक पनि निश्चय नै मेरो उम्मेदवारी रहन्छ’’– शर्माले भन्नुभयो ।

पार्टीको गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य समेत रहनुभएका शर्मा संविधान सभा सदस्य समेत हुनुहुन्छ । २०४१ सलदेखि अनेरास्ववियुमा आबद्ध भएर राजनीतिमा होमिनुभएका नेता शर्मा अनेरास्ववियुको जिल्ला अध्यक्ष, धौलागिरि अञ्चल सदस्य र कोषाध्यक्ष हुनुभएको थियो ।

नेकपा एमाले म्याग्दीका जिल्ला कमिटी सदस्य भैसक्नुभएका शर्माले मुस्ताङ जिल्लाको सचिब र धौलागिरि अञ्चल कमिटी सदस्य रहेर समेत पार्टीमा काम गर्नुभएको थियो । २०५४ मा म्याग्दी जिल्ला सभापति निर्वाचित हुनुभएका शर्मा २०७० सालको संविधान सभा निर्वाचनमा समेत बिजयी हुनुभएको थियो ।