माग सम्बोधन नगरेको भन्दै स्थानीयबासीद्धारा घारखोला जलविद्युत आयोजनामा अवरोध

  • ८ मंसिर २०७८, बुधबार
  • 929 पटक पढिएको

म्याग्दी ८ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनामा स्थानीयबासीले काम रोकेर अवरोध गरेका छन् । वडा नम्बर ६ घारको प्रभावित क्षेत्रमा पर्ने सडक स्तरोन्नती नगरेको र क्षति पुगेका जग्गाधनीलाई मुआब्जा दिन आयोजनाले आनाकानी गरेको भन्दै स्थानीयबासीले बुधवारदेखि आयोजनाको सम्पूर्ण काम ठप्प पारेका हुन् ।

स्थानीयबासीका जायज मागहरुमा आयोजनाले वेवास्ता गरेको र पटक–पटकको ताकेतालाई समेत सम्बोधन नगरेपछि आन्दोलनमै उत्रिएर आयोजनाको सबै काम ठप्प पार्नुपरेको संघर्ष समितिका संयोजक राजु बरुवालले बताउनुभयो । बरुवालको नेतृत्वमा आयोजनाको निर्माण कार्य भैरहेको क्षेत्रमा पुगेका दुई दर्जन स्थानीयबासीले सुरुङमार्गमा वार लगाइदिएका छन् ।

त्यसैगरि आयोजनाको स्टोर, क्रसर, सवारी मर्मत स्थल लगायत सबै ठाउँको काम टप्प पारेका छन् । म्याग्दी हाइड्रोपावर कम्पनि प्रवद्र्धक रहेको यस आयोजनामा सुरुङ ब्रेकथु भएर अन्य ड्याम साईट र विद्युतगृहतर्फको काम अघि बढेको थियो ।

आयोजनाको आन्तरिक पहुँचमार्ग बिरौटाबाट कुरिलाबौरसम्म पर्ने करिब ३ किलोमिटर सडक स्तरोन्नति र यस मार्गका कारण क्षति भएकाहरुको लागि क्षतिपूर्ति तथा बिगतमा वडा कार्यालय तथा मौखिक रुपमा गरिएका सम्झौताहरु आयोजनाले कार्यान्वयन नगरेकाले दबाबमुलक आन्दोलनमा उत्रनुभएको स्थानीयबासीको भनाई छ ।

स्थानीयबासीले आन्तरिक पहुँचमार्गलाई ग्याविन जाली लगाएर, मेशिनरी पर्खाल लगाउने, नालि निर्माण सहित दुई लेनको बनाउनुपर्ने र आबश्यकता अनुसार, सोलिङ र ढलान संगै कालोपत्रे गर्नुपर्ने माग गरेका छन् । आयोजनाले पहुँचमार्गको चौडाई बढाउँदा आवश्यक पर्ने व्यक्तिगत जग्गाहरुलाई उचित मुआब्जा दिनुपर्ने, पहुँचमार्गमा पर्ने खोला तथा खोल्सिहरुमा पुल तथा हिउम पाईपको व्यबस्था गरिनुपर्ने माग गरेका छन् ।

त्यसैगरि व्यक्तिका तथा सार्वजनिक जग्गाहरु संरक्षण गर्नका लागि पहुँचमार्ग निर्माण गर्दा असर पुगेका ठाउँमा आवश्यकतानुसार पर्खाल र ग्याबिन जाली लगाउनुपर्ने, प्रभाबित क्षेत्रका खानेपानिका मुलहरु सुक्दै गएको पाईएकोले मुलहरुको अनुगमन तथा संरक्षण गर्नुपर्ने,पहुचमार्गका कारणले सिचाईमा असुविधा पुगेकाले बैकल्पिक सिचाई सुविधाको प्रवन्ध मिलाउन माग गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका ५ नम्बर वडा शिख र ६ नम्बर वडा घारको सिमा क्षेत्रमा पर्ने कुरीलाबगरमा बाँध रहने यस आयोजनामा सुरुङमार्गबाट पानी लगेर पोखरेबगरमा रहने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गर्ने तयारी छ ।

२०७४ चैतबाट निर्माण सुरु भएको यस आयोजनाबाट आगामी असार मसान्तभित्रै विद्युत उत्पादन गर्ने गरि निर्माण कार्य अघि बढाईएको थियो । म्याग्दी हाइड्रोपावर कम्पनि प्रवद्र्धक रहेको यस आयोजनामा नागरिक उर्जा बुटवल लिमिटेडले समेत लगानी गरेको छ भने एनएमबि बैँकको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कमर्सियल बैँकले समेत लगानी गरेका छन् । कुल रु २ अर्ब ४२ करोड लागत अनुमान गरिएको यस आयोजनामा कोरोनाका कारण आयोजना निर्माणको काम पछि थकेलिएसंगै लागत बढ्ने देखिएको आयोजनाले जनाएको छ ।