माओवादी केन्द्र विमको वडा अध्यक्षमा होमबहादुर जुग्जाली

  • ६ मंसिर २०७८, सोमबार
  • 620 पटक पढिएको

म्याग्दी, ६ मंसिर । म्याग्दीको मालिका गाउँपालिका- ७ विममा नेकपा माओवादी केन्द्रको वडा अध्यक्षमा होमबहादुर जुग्जाली सर्वसम्मत चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्र जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितमा सोमबार विममा जुग्जालीको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गरिएको हो ।

कमिटीको उपाध्यक्षमा सरु श्रीपाली, सचिवमा टंकलाल शर्मा, सह-सचिवमा देबराज जुग्जली र कोषाध्यक्षमा याम बहादुर जुग्जाली रहनुभएको छ । वडा कमिटी गठन कार्यक्रममा २०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट वडा सदस्यको प्रतिस्पर्धामा रहेकी पोपसरा सुनार माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

वडा अधिवेशनलाई सम्वोधन गर्दै माओवादीका जिल्ला संयोजक जुग्जालीले म्याग्दीमा माओवादीलाई शक्तिशाली र बलियो बनाउन संगठन विस्तार वडास्तरबाट सुरु गरिएको बताउनुभयो । उहाँले माओबादीको एजेण्डा अनुसार लागू भएको गणतन्त्र र संघीयता र समावेशी ब्यवस्थाको ब्यवहारिक कार्यान्वयन गर्न जनताको साथ माओवादीलाई हुनुपर्नेमा जोड दिनुभयो ।

मालिका गाउँपालिका अन्तरगत वडा नम्वर १ निस्कोट बाहेक अन्य वडामा माओवादीको वडा कमिटी गठन गरिएको संयोजक जुग्जालीले जानकारी दिनुभयो। मालिका गाउँपालिकाको वडानम्वर २ रुमको अध्यक्षमा हर्कलाल दर्जी, वडा नम्वर ३ डाडागाउँको अध्यक्षमा मोतिप्रसाद बुढा, वडानम्वर ४ ओखरबोटको अध्यक्षमा रेशम पुन, वडा नम्बर ५ देबिस्थानको रबिन्द्र राना, वडा नम्वर ६ दरवाङको अध्यक्षमा ओमबहादुर रोका रहेकोसंयोजक जुग्जालीले जानकारी दिनुभयो । बेनी नगरपालिकासहित मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व चयनसंगै जिल्लाको ३१वटा वडामा माओवादी केन्द्रको वडा कमिटी गठन गरिएको छ।