१९ औँ संस्करणको जेसीजकप मंसिर २१ देखि सुरु हुने

  • ६ मंसिर २०७८, सोमबार
  • 567 पटक पढिएको

म्याग्दी ६ मंसिर । म्याग्दी जेसीजको मूल आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता मंसिर २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन हुने १९ औँ संस्करणको प्रतियोगिता सदरमुकाम बेनी स्थित खुलामञ्चमा सञ्चालन हुनेछ ।


प्रतियोगितालाई सफल रुपमा सम्पन्न गर्नका लागि आर्थिक संकलन, प्रचार प्रसारका काम सुरु गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठले बताउनुभयो । सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगताको तयारीबारे जानकारी दिईएको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने प्रतियोगिताका मुल संयोजक कुमार बानियाँले जानकारी दिनुभयो ।


उहाँका अनुसार, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनको लागि रु ८ लाख ६८ हजार खर्च हुने अनुमान गरिएको छ ।

जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगिता मानिन्छ । सन्तोष श्रेष्ठ स्मृति कोष मुख्य प्रायोजक रहने यस प्रतियोगितामा आर्थिक संकलनका लागि टाइटल स्पोन्सर, प्रायोजक र सह–प्रायोजकको लागि समेत आह्वान गरिएको आयोजकले जनाएको छ ।