प्रथम किशोरी सम्मेलनबाट ११ बुदे घोषणापत्र जारी

  • ३ मंसिर २०७८, शुक्रबार
  • 1072 पटक पढिएको

म्याग्दी ३ कात्तिक । बालबिवाह न्यूनीकरणका लागि ११ बुदे घोषणापत्र जारी गर्दै म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार प्रथम जिल्ला स्तरीय किशोरी सम्मेलन सम्पन्न भएको छ । गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरी गाउँपालिकाको उमेर सान्दर्भिक बिवाहसँग उपाध्यक्ष कार्यक्रम र सामाजिक बिकास कार्यालयको समन्वय तथा संगम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना गरिएको थियो सम्मेलनले बालबिवाह, यौनजन्य हिंसा न्युनीकरण र महिनावारी स्वच्छता कायम गर्ने लगायत किशोरीहरुको शिक्षा, स्वास्थ्य र सुरक्षाका बिषयमा घोषणापत्र जारी गरेको हो ।

 

https://www.facebook.com/MyagdiOnlineNews/videos/1483451365371208

 

 

सम्मेलनमा म्याग्दीका छ वटै स्थानीय तहका २५ वटा बिद्यालयमा गठन भएका किशोरी सञ्जालका ६१ जना प्रतिनिधिहरुको सहभागिता थियो । किशोरीहरुले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरि समाधानका लगि सरोकारवालाको ध्यानकर्षण गराउने बिषयमा सम्मेलनमा छलफल भएको संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलले जानकारी दिनुभयो । किशोर अवस्थामा बिवाह गर्दा हुने असर तथा हानीका बारेमा समुदाय स्तरमा सचेतना फैलाउने, बिस बर्ष पुगेपछि मात्र बिवाह गर्ने, बिस वर्ष भन्दा कम उमेरमा बिवाह हुन लागेको सूचना प्रहरी, जनप्रतिनिधिलाई सघाउने घोषणापत्रमा उल्लेख छ ।

सबै विद्यालयमा महिनावारी हुँदा प्रयोग गर्ने प्याड बिसर्जनका लागि इन्सिलेटरको व्यवस्थापन गर्न माग गरिएको सम्मेलनमा सहभागीहरुले आरामकक्षको व्यवस्था गर्न स्थानीय तह र विद्यालयहरुलाई अनुरोध गरेका छन् । बीस बर्ष नपुगी बिवाह गर्ने जोडीहरुको गाउँ ठाउँमा मिलाउने गलत प्रवृतिको बिरोध गर्ने र त्यस्तो हुन लागेको जानकारी पाएमा प्रहरीलाई सूचना दिने घोषणापत्रमा उल्लेख छ । किशोरीहरु माथि हुने यौनशोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षाको ग्यारेन्टि र त्यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन् । महिनावारीलाई प्राकृतिक प्रक्रियाको रुपमा लिन आग्रह गर्दै त्यो अवस्थामा अध्यारो कोठामा थुन्ने, घरबाट बाहिर निस्कन नदिने, मिठो मसिनो खान नदिने अन्धबिश्वास र रुढिबाढीको भत्र्सना गर्दै महिनावारीको अवस्थामा किशोरीमैत्री वातावरण बनाउन आग्रह गरेका छन् ।
बाच्न, संरक्षण, बिकास र सहभागीताको नैसर्गिक अधिकारको सहज रुपमा उपभोग गर्ने वातावरण बनाउन माग गरेका छन् । सम्मेलनमा सहभागीहरुले बालबिवाह नियन्त्रणमा सरकारी निकायबाट सहयोग नपाएको, सामाजिक हिसाबले दवाव आउने गरेका, महिनावारीको समयमा बिद्यालयमा उचित वातावरण नुहँदा घरमै बस्न बाध्य भएको यौन दुरब्यवहार भएको बताएका थिए ।

किशोरी सञ्जाल मार्फत बिद्यालय र समुदाय स्तरमा सचेतनामुलक कार्यक्रमका साथै बालबिवाह हुन लागेको सूचना जनप्रतिनिधि र प्रहरीलाई गराएको ताकम माबिको किशोरी समूहकी अध्यक्ष करुना परियारले बताउनुभयो । कार्यक्रममा संगम म्याग्दीका कार्यकारी निर्देशक भरत केसीले धवलागिरी गाउँपालिकामा बालबिवाहको अवस्थाका साथै कारण, असर र कानुनी ब्यवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । उहाँका ड्डअनुसार धवलागिरी गाउँपालिकाको २, ३, ४ र ७ नम्बर वडामा २० बर्षभन्दा कम उमेरमा बिवाह गर्ने किशोरीहरुको संख्या ४६३ जना भेटिएको छ

कार्यक्रममा प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापा, धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन, बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, सामाजिक बिकास कार्यालयका प्रमुख रमेश थापा, प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङ लगायतले बालबिवाह न्युनीकरणका लागि किशोरीहरु सचेत बन्नुपर्ने बताउनुभयो ।सहभागीहरुलाई बालबिववाहको कारण, असर र बालबिवाह गर्नेलाई हुने कानुनी कारबाहीको बारेमा जानकारी गराइएको थियो सम्मेलनको अवसरमा धनजनता माबिकी नरदेबी बिक अध्यक्ष र धनमाया श्रेष्ठ सदस्य रहेको जिल्ला स्तरीय किशोरी सञ्जालको समन्वय समिति गठन भएको संगम म्याग्दीका शिक्षा बिकास अधिकृत चन्द्रप्रकाश बुढाले बताउनुभयो । यसैगरी रघुगंगा माबीका शिक्षक मेघा रिजाल अध्यक्ष र बालबिवाह न्यूनीकरण परियोजनाकी संयोजक खिमा पुर्जा सदस्य सचिब रहेको जिल्ला स्तरीय लैङ्गिक सम्पर्क शिक्षकको समन्वय समिति गठन भएको छ । बालबिवाह न्यूनीकरणमा योगदान गरेवापत ताकम माबिको किशोरी समुहकी करुणा परियार र धनजनता माबिको किशोरी समूहकी अध्यक्ष नरदेबी बिकलाई सम्मान गरिएको थियो । धवलागिरी गाउँपालिकाको २, ३, ४ र ७ नम्बर वडामा गल्र्स फस्ट फण्ड परियोजना अन्तरगत बालबिवाह न्युनीकरण कार्यक्रम सञ्चालन भएको छ ।