कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनको तयारी पुरा

  • ३० कार्तिक २०७८, मंगलवार
  • 1083 पटक पढिएको

म्याग्दी ३० कात्तिक । नेपाली कांग्रेस म्याग्दीको सातौँ जिल्ला अधिवेशनको आवश्यक तयारी पुरा भएको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको पुर्ण बैठकले अधिवेशनको लागि कार्य विभाजन गरी आवश्यक तयारी थालेको थियो । अधिवेशनको लागि आवश्यक तयारी पुरा भएको नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो ।


बेनी स्थित जिल्ला समन्वय समितिको सभा हलमा हुने अधिवेशनमा करिब सात सय प्रतिनिधि सहभागि हुने नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । यसअघि सम्पन्न ४५ वटा वडाको अधिवेशनबाट करिब सात सय ५० जना क्षेत्रीय प्रतिनिधि चुनिएका छन् । अधिवेशनबाट आगामी जिल्ला कार्यसमितिको नेतृत्व संगै राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि चयन गर्नेछ ।

अधिवेशनका लागि प्रतिनिधिहरु बेनीमा आउने क्रम जारी छ । अधिवेशनका लागि नेता,कार्यकर्ता भेला र छलफलमा जुटेपछि रौनक तातेको छ । साढे ५ वर्षपछि हुन लागेको कांग्रेसको आसन्न महाधिवेशनलाई पार्टीका नेताकार्यकताले उत्सवका रूपमा लिएका छन् र अधिवेशनका लागि यतिखेर नेताकार्यकर्ताहरु गाउँगाउँमा पुगेर प्रचार अभियानको अन्तिम चरणमा छन् ।

मुलुक संघीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । केन्द्रिय कार्यसमितिले म्याग्दीमा बागलुङका निरञ्जनलाल राज भण्डारीलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ । नेतृत्वको लागि निवर्तमान जिल्ला सभापति रेशम बहादुर बानियाँ र वर्तमान जिल्ला सभापति खमविर गर्वुजा पक्ष चुनाबी प्रतिस्पर्धामा छन् ।