मुस्ताङको हिमपहिरोमा १२० चौंरी बेपत्ता

  • २९ कार्तिक २०७८, सोमबार
  • 1016 पटक पढिएको

मुस्ताङ २९ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौंरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौंरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले नाउरीकोटकी रनदेवी तुलाचनकाे घरको छानो उडाएको वडाअध्यक्ष नरप्रसाद   हिराचनले जानकारी दिए ।

“भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिंह माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्कनुभएको छ” उनले भने, “भीम प्रसाद थकाली र सकेन्द्र गौचनका ६५/६५ वटा याक चौंरीमध्ये १०/१२ वटा मात्र भेटिएका छन् ।” हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षित रुपमा सम्पर्कमा आएका छन् । १३० याक चौंरीमध्ये बाइनाकुलरले हेर्दा १०/१२ मात्र देखिएको र बेपत्ता चौंरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।


हिमपहिरोले जङ्गलमा रुख ढलाएको छ । वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ । हिमपहिरोपछि बोक्सी खोलामा पानीको सतह बढेको थियो । बेनी–जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो । नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ । घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ । जङ्गलमा चर्न गएका गाई, भैसी र भेडा पनि हताहत भएको हुनसक्ने वडाध्यक्ष हीराचनले बताए । उवा र फापरबालीमा क्षति पुगेको छ ।

सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, महेन्द्र थकाली, प्रजिअ शर्मालगायत सुरक्षा अधिकारीको टोलीले स्थलगत निरिक्षण गर्नुभएको थियो । क्षतिको विवरण सङ्कलन भइरहेको कोवाङ प्रहरी चौकीका प्रमुख नेत्र जिटीले बताए । हिउँसो ११ः४० मा ठूलो आवाज हिउँको मुस्लो आएपछि भागाभाग भएको थियो । हिम पहिरोको धक्बा नाउरिकोट गाउँ, बोक्सी खोला नजिक बेनी–जोमसोम सडकसम्म आउँदा त्रसित भएर भागाभाग भएको जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका प्रअ खेम गुरुङले बताए । हिउँदयाममा हिउँ जम्नुपर्नेमा बेमौसममा हिमपहिरो गएको प्रतिनिधिसभा सदस्य तुलाचनले बताए । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असरले बेमौसममा हिमपहिरो गएको उनको भनाइ छ ।