कोरला नाकामा अन्तरदेशीय व्यापार मेला सुरु

  • १ असार २०७४, बिहीबार
  • 2095 पटक पढिएको

म्याग्दी,०१ असार । नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा हरेक बर्ष आयोजना हुने अन्तरदेशीय व्यापार मेला आजदेखि सुरु भएको छ । मेला प्रवेशका लागि यसबर्ष सीमा क्षेत्रका नेपालीलाई परिचय–पत्र अनिवार्य बनाईएको छ ।


१० दिनसम्म सञ्चालन हुने मेलाका लागि चिनियाँ र नेपाली व्यापारीहरु सीमा क्षेत्रमा पुगीसकेका छन् । गतबर्षहरुमा परिचयपत्र बिनै सीमा क्षेत्रका नेपाली र व्यापारिलाई चिनियाँ पक्षले सहजै प्रवेश दिने गरेको थियो । मेला संञ्चालनका लागि चीनियाँ सुरक्षा अधिकारी र नेपालका तर्फबाट ईलाका प्रशासन कार्यालय छोसेर,सिमा प्रहरी चौकी लोमान्थाङका सुरक्षा अधिकारी सहित लोमान्थाङ गाउँपालिकाका प्रमुख सुवर्ण कुमार बिष्ट र दालोमे गाउँपालिका प्रमुख लोप्साङ छोम्फेल गुरुङ(राजु) बीच गतहप्ता ढुङवासेन काउन्टीमा दुई पक्षीय बैठक बसेको थियो । उक्त वैठकमा चिनियाँ पक्षले सुरक्षालाई पहिलो प्राथामिकता दिएर परिचय–पत्र बिना प्रवेश दिन नसक्ने बताएका थिए ।

सोही बमोजिम दुई गाउँपालिका स्थानीयलाई इलाका प्रशासन कार्यालयले अस्याथी परिचयपत्र जारी गरेको छ । “अहिले परिचयपत्र नभई मेलामा जान नपाउने भएपछि परिचयपत्र बनाउन व्यस्तता बढेको छ”, इलाका प्रशासन कार्यालयका प्रमुख जितेन्द्र बलामीले भन्नुभयो, “सुरक्षामा हामी पनि संवेदनशील छौँ, विगतमा सुरक्षाकै कारण चिनियाँ पक्षले तोकिएको समय अघि नै मेला बन्द गरेको थियो ।” बर्षको दुईपटक आयोजना हुने अन्तरदेशीय व्यापार मेलाबाट खाशगरि सीमा क्षेत्रका स्थानियले आफ्नो दैनिक उपभोग्य बस्तु आयात देखि विभिन्न किसिमका जडिबुटीहरु निर्यात गर्छन् ।
गतबर्ष २५ दिने मेलाका नाका खुलाईएपनि सुरक्षाकै कारण देखाएर १० दिन अघि नै बन्द गरेको थियो । “उनीहरुको मूख्य चासो नै सुरक्षा हो । कस्तो किसिमका मान्छेहरु आउंछन्, त्यसले के गर्छ ? त्यसैमा बढी निगरानी हुन्छ”, उनले भने,“शँका लाग्ने वित्तिकै बन्द गरिहाल्छ ।” व्यापार मेला सुरु हुने भएपछि कोरला नाकास्थित नेचुङ भन्सार कार्यालय पनि सञ्चालनमा आएको छ । बर्ष दुईपटक आयोजना हुने मेलामा मात्र कार्यालय सञ्चालन हुन्छ । यहाँका कर्मचारी सदरमुकाम जोमसोममै बसेर समय व्यतीत गर्छन् । मेलामा निर्यात भन्दा आयात नै बढी हुने गरेको लोमान्थाङ गाउँपालिका प्रमुख सुर्वणकुमार श्रेष्ठको भनाई छ ।