गलेश्वर- भगवती सडकका ठेकेदारलाई कारबाहिको माग

  • १५ कार्तिक २०७८, सोमबार
  • 715 पटक पढिएको

म्याग्दी, १५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले-भगवती सडक कालोपत्रे योजनामा निर्माण कम्पनीले चरम लापरबाही गरेको भन्दै कानुनी कारबाहीको माग गरिएको छ । निर्धारित समयमा निर्माण कार्य सम्पन्न नगरेको र थप भएको समयसिमा सकिन लाग्दा समेत कार्यक्षेत्रमा निर्माण कम्पनी परिचालन नभएपछि स्थानीयबासीले चौतर्फि विरोध जनाएका छन् ।

स्थानीय सरोकारवाला र युवाहरुले ठेकेदार कम्पनीको खोजी गर्न सामाजिक सञ्जाल मार्फत दबाब बढाएका छन् । सोमबार नेकपा एमाले रघुगंगा कमिटिका अध्यक्ष दिपक कार्कीले समेत पूर्वाधार विकास कार्यालय म्याग्दीमा ध्यानकर्षण गराउनुभएको छ । कार्की नेतृत्वको टोलीले कार्यालय प्रमुख सन्तोष अर्याललाई ध्यानकर्षण पत्र बुझाउँदै सडक कालोपत्रे योजनामा चरम ढिलासुस्ती र लापरबाही गर्ने निर्माण कम्पनीलाई छानविन गरि कारबाहीको माग गरेका छन् ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालय मार्फत ठेक्का सम्झौता गरि २०७६ जेठदेखि एपेक्स-खड्का कृष्ण जे.भी काठमाडौले निर्माण कार्यको जिम्मा लिएको थियो । गत जेठभित्रै निर्माण सम्पन्न हुनुपर्ने उक्त योजनाको अहिलेसम्म करिब ५० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । पिप्लेदेखि भगवती सम्मको सडक फराकिलो बनाउने, नाली निर्माण र पर्खाल लगाउने काम भएको छ भने गलेश्वरदेखि पिप्ले बगैचा सम्मको सडकलाई समयमै संरक्षण र पूर्वाधार निर्माण नगर्दा पहिरोले क्षतविक्षत बनाएको छ ।

सडकका कारण बस्ती समेत जोखिममा परेको, नाली व्यवस्थित नगर्दा बस्तीमा भलबाढीको समस्या आएको र निर्माण कार्यलाई सम्पन्न गर्न निर्माण व्यवसायिले उदासिनता देखाएपछि आबश्यक पहलकदमी र कारबाहीको लागी ध्यानकर्षण गराएको एमाले रघुगंगा गाउँकमिटीका अध्यक्ष कार्कीले बताउनुभयो ।

निर्माण कम्पनीलाई पूर्वाधार कार्यालयले पटक पटक पत्र काटेर योजनालाई छिटो सम्पन्न गर्न निर्देशन दिँदै आएको छ । कार्यालयको ताकेतापछि दर्शैपछि कार्यक्षेत्रमा आएको निर्माण कम्पनीले आगामी चैतभित्र पिप्लेदेखि भगवतीसम्मको सडकलाई कालोपत्रे सम्पन्न गर्ने प्रतिबद्धता जनाएको कार्यालयका प्रमुख अर्यालले जानकारी दिनुभयो ।

‘‘कोरोना महामारी र कम्पनीको आन्तरिक समस्याले योजनामा ढिलासुस्ती भएको देखिन्छ, हामीले पटक पटक ताकेता गरिरहेका छौँ, मुख्य ठेकेदार कम्पनीका प्रतिनिधिले पनि कामलाई पूणर्ता दिने तत्परता देखाएका छन’’-उहाँले भन्नुभयो । भ्याट सहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता भएको यस योजनामा ८ किलोमिटर सडकलाई ८ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्रे गर्नुपर्ने उल्लेख ।