भूतपूर्व सैनिक सहकारीको १६ औँ बार्षिक साधारण सभा सम्पन्न (तस्बिर सहित)

  • १३ कार्तिक २०७८, शनिबार
  • 687 पटक पढिएको

म्याग्दी १४ कात्तिक ।  म्याग्दी सदरमुकाम बेनीमा मुख्य कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ बार्षिक साधारण सभा शनिवार बेनीमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले सहकारीका मुल्य मान्यता र सिद्धान्तको पालना गर्दै योग्यता र दक्षतालाई समेत मनन गरेर सहकारी सञ्चालन गर्न सके सहकारीकाे दिगाेपन र उत्कृष्ट व्यवस्थापन हुनेमा जोड दिनुभयो ।


राज्यले तीनखम्बे अर्थनीतिमा सहकारीलाई पनि बलियो र महत्वपूर्ण खम्बाको रुपमा लिएको बताउँदै सहकारीलाई नीति, विधि र प्रविधिमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । ‘‘सहकारीले अब पैसाको मात्रै कारोबार गर्दैन, यसले समग्र आर्थिक विकासमा योगदान गर्न सक्छ, त्यसका लागि अब वित्तिय क्षेत्रमा स्थापित भएका प्रविधिहरुलाई सहकारीले समेत फलो गर्दै जानुपर्छ’’–कार्कीले भन्नुभयो । कार्यक्रममा सहकारीका अध्यक्ष सुवेदीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमण र त्यसलाई रोकथामका लागी गरिएका लकडाउनका कारण आर्थिक क्षेत्र प्रभावित बनेको अवस्थामा समेत सहकारीले शेयर सदस्यहरुलाई सन्तोषजनक मुनाफा दिन सक्षम भएको बताउनुभयो ।
बेनीमा मुख्य र रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र सञ्चालन गरि वित्तिय कारोबार र सेवा दिँदै आएको सहकारीले आगामी बर्षमा जिल्लाका अन्य स्थानीय तह र छिमेकी पर्वतको जलजला गाउँपालिकामा समेत सेवाकेन्द्र विस्तारको अवधारणा अघि सारेको अध्यक्ष सुवेदीले बताउनुभयो । उहाँका अनुसार, चालु आर्थिक बर्षमा सहकारीले बार्षिक रु ३० करोड कारोबा र २० करोडको लगानी गर्ने प्रस्ताब गरिएको छ । साधारण सभामा अध्यक्ष सुवेदीले संस्थाका गतिविधि र प्रस्ताबित कार्ययोजना सहितको प्रतिवेदन पेश गर्नुभएको थियो ।
त्यसैगरि सचिब नरेन्द्र कुमार श्रेष्ठले प्रगति, कोषाध्यक्ष हिरा प्रसाद श्रेष्ठले आर्थिक लेखा सुपरिवेक्षण समितिका संयोजक रामबहादुर पौडेलले लेखा सुपरिवेक्षण प्रतिवेदन पेश गर्नुभएको थियो । त्यसैगरि साविक मौवाफाँट बचत तथा ऋण सहकारी संस्था लि भूतपूर्व सैनिकमा एकिकरण भएपछि मौवाफाँट सेवाकेन्द्रको अवस्था र प्रवाह भएका सेवाहरुको बारेमा सहसचिब मुक्तिनाथ शर्माले जानकारी गराउनुभएको थियो ।
आर्थिक बर्ष २०७७/०७८ मा कुल बाईस करोड एकचालिस लाख बैसठ्ठी हजार तीन सय उनान्असी कारोबार गरेको सहकारीले १७ करोड २८ लाख ९१ हजार ४१ रुपैयाँ बचत संकलन, ११ करोड ९८लाख २५ हजार १ सय ९४ कर्जा लगानी गरेको जनाएको छ । १ हजार ६ सय २४ जना शेयर सदस्य रहेको सहकारीले गत आर्थिक बर्षमा कुल रु २ करोड १६ लाख ९५ हजार ३ सय ३३ आम्दानी र रु १ करोड ९६ लाख ९८ हजार५ सय ६३ रुपैयाँ खर्च भएको जनाएको छ । सहकारीका उपाध्यक्ष झलप्रसाद गौचनले स्वागत गर्नुभएको कार्यक्रममा संस्थापक अध्यक्ष नन्दबहादुर छन्त्याल, शेयर सदस्यद्धय कमला केसी, रामप्रसाद सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट कारोबारकर्ताको रुपमा जगन्नाथ चपाई र उत्कृष्ट कर्मचारीको रुपमा लेखापाल गिता पुन बुढाथोकीलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरिएको थियो भने शेयर सदस्य लेखबहादुर हमालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।