काँग्रेस म्याग्दीको अधिवेशन : कात्तिक २७ मा प्रदेश निर्वाचन, मंसिर १ मा जिल्ला

  • १२ कार्तिक २०७८, शुक्रबार
  • 901 पटक पढिएको

म्याग्दी १२ कात्तिक । नेपाली काँग्रेस म्याग्दीको जिल्ला अधिवेशन आगामी मंसिर १ गते हुने भएको छ । वडा र पालिका अधिवेशन सम्पन्न भएको म्याग्दीमा प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन रोकिएको थियो । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले विहिवार गरेको निर्णय अनुसार, म्याग्दीमा कात्तिक २७ गते प्रदेश विर्नाचन क्षेत्र र मंसिर १ गते जिल्ला अधिवेशन हुने भएको छ ।


काँग्रेसको निर्वाचन समितिले संशोधन गरेको निर्वाचन कार्यतालिका अनुसार, म्याग्दी, सोलुखुम्बु र दार्चुलामा एकै पटक प्रदेश निर्वाचन र जिल्ला अधिवेशनको मिति तोकिएको छ । म्याग्दीमा आगामी जिल्ला अधिवेशनमा वर्तमान जिल्ला सभापति खमबहादुर गर्वुजा( खमवीर) र निवर्तमान जिल्ला सभापति एवम संविधानसभा सदस्य रेशमबहादुर बानियाँबिच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

जिल्लामा रहेका ६ स्थानीय तहमध्ये चार वटामा सर्वसम्मत नेतृत्व चयन भएपनि बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा गर्वुजा र बानियाँ पक्षबिच चुनाबी प्रतिस्पर्धा भएको थियो । केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका संशोधन सहित म्याग्दीको प्रदेश निर्वाचन र जिल्ला अधिवेशनको मिति तोकेपछि काँग्रेस म्याग्दीका नेताहरुमा चुनाबी सरगर्मी बढ्न थालेको छ ।