म्याग्दीमा एमालेको नेतृत्व : ‘वडामा युवा, पालिकामा पाका’

  • ११ कार्तिक २०७८, बिहीबार
  • 1293 पटक पढिएको

बेनी, ११ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत म्याग्दीमा भएका वडा र पालिका अधिवेशनले युवा पुस्तालाई नेतृत्वमा स्थापित गरेको छ । ६ स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा मंगलवार सम्म सम्पन्न भएका ४२ वटा वडा , एक नगरपालिका र ४ वटा गाउँपालिकाको अधिवेशनबाट ‘वडामा युवा र पालिकामा पाका’ नेताको नेतृत्व स्थापित भएको छ । पालिका अधिवेशनबाट धवलागिरि गाउँपालिमा होम बहादुर थापा, मालिका गाउँपालिकामा बेगप्रसाद गर्वुजा, मंगला गाउँपालिकामा सतप्रसाद रोका , रघुगंगा गाउँपालिकामा प्रेमबहादुर कार्की (दिपक) र बेनी नगरपालिमा नारायण जिसी पालिका कमिटी अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।


पालिकाको नेतृत्वमा चुनिएकाहरु समेत युवा पुस्ताकै पाका नेताहरु बढी हुनुहुन्छ । धवलागिरि गाउँपालिका कमिटीका सचिब रेशम छन्त्याल,उप–सचिवद्धय बिजय घर्ती र तिलक पुन युवा हुनुुहुन्छ भने उपाध्यक्ष राजाराम सुबेदी वडा नम्बर ६ मराङको वडा अध्यक्ष हुनुहुन्छ । धवलागिरिको वडा नम्बर ४ मुदीका वडा कमिटी अध्यक्ष गणेश घर्ती समेत युवा हुनुहुन्छ । वडा र पालिका कमिटीमा युवा पुस्ताको ७५ प्रतिशतको हाराहारीमा प्रतिनिधित्व रहेको एमाले जिल्ला सचिबालय सदस्य एवम धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।


युवा पुस्ताकै पाका नेता गर्वुजाको अध्यक्षतामा सर्वसम्मत निर्वाचित मालिका गाउँपालिका कमिटीका पदाधिकारी सबै युवा नै रहनुभएको छ । कमिटीको उपाध्यक्षमा दलमान पुन, सचिबमा सन्तोष सुवेदी, उप–सचिबमा भुपेन्द्र दर्जी र धनबहादुर बोहरा चयन हुनुभएको छ । उपसचिब दर्जी २४ बर्षको हुनुहुन्छ । मालिकाको वडा अध्यक्षहरुमध्ये २ नम्बर वडा कमिटी अध्यक्ष उदय बहादुर बुढाथोकी, ५ का अध्यक्ष नवीन कुमार बुढाथोकी, ६ का अध्यक्ष तारामान रोका र ७ का अध्यक्ष टुकलाल चोचाङ्गे ३५ बर्षभित्रको हुनुहुन्छ भने १ नम्बरका अध्यक्ष यामबहादुर पुन, ३ का बलबहादुर बुढा र ४ का गोविन्द कँडेल समेत युवा पुस्ताकै रहनुभएको गाउँपालिकाका उपाध्यक्ष समेत रहनुभएकी एमाले नेतृ खरमायाँ बिटालुले बताउनुभयो ।

उहाँका अनुसार, पालिका र वडा कमिटीमा चयन भएकाहरु ८० प्रतिशत युवा पुस्ताका रहनुभएको छ । मंगला गाउँपालिकाको वडा र पालिका कमिटीमा समेत ७० प्रतिशतको हाराहारीमा युवा पुस्ता समेटीएको गाउँपालिकाका उपाध्यक्ष समेत रहनुभएकी एमाले नेतृ सिर्जना केसीले जानकारी दिनुभयो । सतप्रसाद रोकाको अध्यक्षतामा गठीत पालिका कमिटीको उपाध्यक्षमा प्रेमा अधिकारी, सचिबमा चिरञ्जीवी शर्मा, उप–सचिबमा दर्पण रोका र चक्रलाल पाण्डे निर्वाचित हुनुभएको छ । अध्यक्ष रोका र उपाध्यक्ष अधिकारी युवा पुस्ताकै पाका नेताको रुपमा चिनिनुहुन्छ भने सचिब शर्मा र उप–सचिबद्धय रोका र पाण्डे युवा नेता हुनुहुन्छ । यस पालिकाको वडा नम्बर १ कुहुँका वडा कमिटी अध्यक्ष एकजित रोका, ४ का अध्यक्ष अर्जुन रोका र ५ का अध्यक्ष कृष्ण छन्त्याल ४० बर्ष उमेर भित्रकै युवा नेता हुनुहुन्छ ।
अन्नपूर्ण–३ को वडा कमिटी अध्यक्ष रमेश पुर्जा र ७ को अध्यक्ष मिलन पुर्जा युवा हुनुहुन्छ ।

अधिवेशन सम्पन्न भएका वडाहरुमा करिब ४० प्रतिशतको हाराहारीमा युवापुस्ताको प्रतिनिधित्व रहेको बताइएको छ । अन्नपूर्ण ८ को वडा कमीटी अध्यक्षमा निर्वाचित देउकुमारी खोरजा म्याग्दीमा एमालेको वडा कमिटीमा निर्वाचित एक्ली महिला वडा कमिटी अध्यक्ष बन्नुभएको छ । बेनी नगरपालिका–९ का वडा कमिटी अध्यक्ष बाबुराम चोखाल , ३ का अध्यक्ष गेमबहादुर घर्ति मगर , ५का अध्यक्ष दिनेश कार्की समेत युवा नेता हुनुहुन्छ । बेनी नगर कमिटीको अध्यक्षमा समेत युवा नेता नारायण जिसी निर्विरोध निर्वाचित हुनुभएको छ । प्रथम नगर अधिवेशनबाट सर्वसम्मत रुपमा जिसीको अध्यक्षतामा ८३ सदस्यीय नगर कमिटी चयन गरिएको हो ।

अधिबेशनबाट उपाध्यक्षमा लिलाराम गौतम, सचिबमा सुवास विश्वकर्मा, उपसचिबमा लक्ष्मण कटुवाल र हिरा बहादुर थापा चयन हुनुभएको छ । नगरको पदाधिकारी र कमिटीमा समेत युवाहरुको संख्या अधिक रहेको एमालेले जनाएको छ । रघुगंगाको पालिका र वडा कमिटीहरुमा युवाहरुकै बर्चश्व रहेको एमाले म्याग्दीका जिल्ला उपाध्यक्ष देवेन्द्रबहादुर केसीले बताउनुभयो । दिपक कार्कीको अध्यक्षतामा गठीत ५८ सदस्यीय एमालेको रघुगंगा गाउँपालिका कमिटीमा कमिटीको उपाध्यक्षमा गम पुन पाका र सचिब झलक शर्मा, उपसचिवद्धय याम कुमारी गर्वुजा र दिपा पुन युवा पुस्ताका हुनुहुन्छ । रघुगंगा –३ नम्बर वडा कमिटीका अध्यक्ष सुमन पौडेल, ५ का अध्यक्ष तेजु शेरपुञ्जा र ८ का अध्यक्ष तेजिन फगामी पनि युवा हुनुहुन्छ ।

‘‘जिल्लाव्यापी रुपमा वडा र पालिका स्तरको नेतृत्व र कमिटीमा युवापुस्ताकै बर्चश्व देखिएको छ, राजनीतिमा युवाहरुको आकर्षण बढ्नु सकरात्मक पक्ष हो, यसले पार्टीलाई बलियो र समाजलाई सचेत र जागरुक बनाउन रचनात्मक भूमिका खेल्नेछ’’–जिल्ला समन्वय समितिका प्रमुख समेत रहनुभएका एमाले उपाध्यक्ष केसीले भन्नुभयो । एमालेको अन्नपूर्ण गाउँपालिका अधिवेशन केहि दिन पछि सारिएको छ ।