एमालेको पालिका अधिवेशनः म्याग्दीका पाँच पालिकामा नेतृत्व चुनिदै

  • ९ कार्तिक २०७८, मंगलवार
  • 655 पटक पढिएको

म्याग्दी ९ कात्तिक । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । ६ स्थानीय तह रहेको म्याग्दीमा आज पाँच पालिकामा एमालेको पालिका स्तरीय अधिवेशन हुने भएको छ ।

बेनी नगरपालिका सहित चार गाउँपालिकामा मंगलवार अधिवेशन हुन लागेको एमाले म्याग्दीका उपाध्यक्ष देवेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार, अन्नपूर्ण गाउँपालिका बाहेक रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका र बेनी नगरपालिकाको आज नै अधिवेशन आयोजना गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाका केहि वडाहरुमा वडा अधिवेशन बाँकी रहेको जनाइएको छ । देशभर एकै दिन आयोजना गरिएको पालिका अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथलिस्थित पार्टी कार्यालयको वार रुमबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।