म्याग्दीको हितमा मोनाको अभियान अघि बढ्छनः मोनाका अध्यक्ष छन्त्याल (भिडियो सहित)

  • ७ कार्तिक २०७८, आईतवार
  • 1039 पटक पढिएको

म्याग्दी ७ कात्तिक ।   म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियका अध्यक्ष अमर छन्त्यालले म्याग्दीको हितमा मोनाका अभियान अघि बढ्ने धारणा राख्नुभएको छ । मोनाको चौथो महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएका छन्त्यालले आइतवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा राख्नुभएको हो ।

 

प्रवासी म्याग्देलीहरुलाई एकताबद्ध गराउन मोनाको अवधारणाले महत्वपूर्ण भूमिका खेलेको भन्दै जिल्लामा प्रवासीको ज्ञान, शिप र पुँजी भित्र्याउनका लागि मोनाले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । ‘‘प्रवासी म्याग्देलीहरुले विदेशमा आर्जन गरेको पुँजीलाई जिल्लाको विकासमा परिचालन गर्न आबश्यक देखिएको छ, यहाँ के कस्ता सम्भावनाहरु छन, त्यसको बारेमा मोनाले विश्वभर छरिएर रहेका प्रवासी म्याग्देलीहरुलाई जानकारी गराउने जमर्को गरेको छ, अझै यहाँका स्थानीयतहहरुसंग समन्वय गरि लगानीका क्षेत्रहरुलाई उजागर गर्छौ’’–उहाँले भन्नुभयो ।


म्याग्दीमा उत्पादन हुने सिमि, चामल, टिमुर, च्याउ, गुन्द्रुक लगायतलाई उपजहरुलाई ब्राण्डिङ गरेर अन्तराष्ट्रिय बजारसम्म पु¥याउन सकिने समेत बताउनुभयो । उहाँले विश्वका विभिन्न मुलुकमा पुगेका र मोनाको सञ्जालमा नजोडिएका म्याग्देलहिरुलाई समेत मोनामा आवद्ध गर्ने र राष्ट्रिय कार्यकारी समितिको सञ्जाल विस्तारलाई समेत प्राथमिकतामा राखेको बताउनुभयो ।

म्याग्दी समाज अमेरिकाका पूर्व अध्यक्ष र एनआरएनए अमेरिकाका पुर्व बोर्डअफ डाइरेक्टर समेत रहनुभएका छन्त्यालले त्यहाँ गरेका कामहरुको अनुभवलाई समेत मोनाको सामाजिक कार्य र संस्थागत विकासको कार्यहरुमा उपयोग गर्ने बताउनुभयो ।