बाढी र पहिरोका कारण मुस्ताङ भ्रमणमा निस्कीएका पर्यटकहरुलाई सास्ती
- ३ कार्तिक २०७८, बुधबार
- 1492 पटक पढिएको
बेनी, ३ कात्तिक । दशैँको अवसरमा हिमालपारिको जिल्ला मुस्ताङको भ्रमणमा आएका पर्यटकहरुले सास्ती व्यहोरेका छन् । चार दिनसम्म परेको अविरल बर्षाको कारण बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–३ को राहुघाटको पहिरो, अन्नपूर्ण गाउँपालिका–३ को काभ्रेभिर पहिरो र मुस्ताङको मार्फा खोलामा आएको बाढीको कारण घण्टौसम्म सडक अवरुद्ध हुँदा पर्यटक, यात्रु र स्थानीयबासीले सास्ती व्यहोरेका हुन् ।
दशैँको टिकाको दिनदेखि नै म्याग्दी हुँदै मुस्ताङको भ्रमणमा दैनिक २ देखि ३ हजारकोे संख्यामा पर्यटकहरु भित्रिएका छन् । राहुघाटमा सडकमाथिबाट खसिरहने पहिरो र हिलाम्मे सडकका कारण अधिकाँश सवारी साधन सडकमै फस्ने समस्याले यात्रुहरुले घण्टौँसम्म जामको सामना गर्नुपरेको छ । मुस्ताङबाट फर्किएका काठमाण्डौका सुधिर थापाले राहुघाटको पहिरोको जाममा ४ घण्टासम्म कुर्नुपरेको बताउनुभयो । मोटरसाईकलमा हिलो सडकमा जाम परेको र पहिरोको थप जोखिम हुँदा त्रसित भएर बस्नुपरेको उहाँले बताउनुभयो ।
राहुघाटमा तीनदिन यता घण्टौँसम्म एक किलोमिटर लामो सवारी साधनको जाम हुने गरेको छ । राहुघाटको पहिरोले बेनी–जोमसोम सडक हुँदै मुस्ताङको भ्रमणमा जाने पर्यटक संगै म्याग्दीको रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासीलाई जिल्ला सदरमुकाम बेनी आवत जावत गर्न समेत सास्ती भएको छ । राहुघाट र काभ्रेभिरको पहिरोमा यात्रुहरुलाई सहजिकरण गर्न प्रहरी नियमित रुपमा खटिएको र सडकलाई सामान्य रुपमा सञ्चालनमा ल्याउन सम्बन्धित निर्माण कम्पनीलाई ताकेता गरिएपनि उनीहरुले वेवास्ता गरेको म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले जानकारी दिनुभयो ।
‘‘गलेश्वरको राहुघाट पहिरो पन्छाउन सडक निर्माण गर्ने ठेकेदारलाई ताकेता गर्दा पनि सम्भव भएको छैन, अहिले प्रहरीले नै यात्रुहरुलाई सहजीकरण गर्ने काम गरेको छ, तर प्रहरीको प्रयासले मात्रै सडकलाई सहज बनाउन सम्भव छैन’’–उहाँले भन्नुभयो । त्यसैगरि मुस्ताङको मार्फा खोलामा आएको बाढीले सवारी साधन वारपार गर्ने अस्थायी पुल पुरेपछि पर्यटकहरुको यात्रा कष्टकर बनेको छ । पुल पुरिएपछि सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा सवारी साधन वारपार गराउँदा पर्यटकहरुले घण्टौँसम्म जामको सामना गर्नुपरेको नेपाल पत्रकार महासंघ मुस्ताङका सचिब सुशील थकालीले जानकारी दिनुभयो ।
तस्बीर ः माेहन केसी र सुशील थकाली