मोनाको चौथो महाधिवेशनको तयारी पुरा

  • १ कार्तिक २०७८, सोमबार
  • 1003 पटक पढिएको

म्याग्दी, १ कात्तिक । कात्तिक २ र ३ गते बेनीमा हुने म्याग्दी प्रवासी नेपाल संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको तयारी पुरा भएको छ। मोनाले सोमबार बेनीस्थित रहेको मुख्य कार्यालयमा पत्रकार सम्मेलन गरी भोली देखि सुरु हुने सम्मेलनको तयारी पुरा भएको जानकारी दिएको हो ।

कोभिड विरुद्ध जनस्वास्थ्य मापदण्डहरुलाई पालना गर्दै विभिन्न २० देशमा रहेका राष्ट्रिय समितिबाट २६१ जनाको भौतिक तथा भर्चुल सहभागिता हुने महाधिवेशन संयोजक मिम पुर्जाले जानकारी दिए । महाधिवेशनबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व समेत चयन हुनेछ । उद्घाटनको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको र्‍याली समेत आयोजना गरिएको छ । मंगलबार जिसस सभाहलमा हुने महाधिवेशनको उद्घाटन प्रतिनिधि सभाका सदस्य भुपेन्द्र थापाबाट हुने आयोजकले जनाएका छन् । सम्मेलनमा चर्चित कलाकार कुमार पुन, नेशन पुन लगायतका स्थानीय कलाकारको प्रस्तुती हुने छ ।

आगमी नेतृत्वको दावी गर्दै मोना समितिका वर्तमान वरिष्ठ उपाध्यक्ष मीम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव विक्रम कार्की सहित तीन जनाले अध्यक्ष पदको उम्मेदवारी दर्ता गरेको निर्वाचन मण्डलका संयोजक सुवाष श्रेष्ठले जानकारी दिए । पुर्जा नेदरल्याण्ड,छन्त्याल अमेरिका र कार्की कतारमा बसोबास गर्छन । अध्यक्ष पदका उम्मेद्वार विक्रम कार्कीले सर्वसम्मतमा नेतृत्व चयन गर्ने गरी तयारी भईरहेको जानकारी गराए । सहमतिमा मोनाको नेतृत्व चयनका लागि मोनाका सल्लाकार र बर्तमान कार्यसमितिसंग छलफल भईरहेको कार्कीले बताए ।

चौथो महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तिन जना, महिला उपाध्यक्ष १ जना, महासचिव १, सचिव २, प्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, महिला उप-संयोजक, क्षेत्रीय संयोजक र उपसंयोजक ५/५ जना छनोट गर्ने छन् ।

कोरोना महामारीको जोखिमका कारण कतिपय देशमा रहेका मोनाका शाखा मार्फत प्रतिनिधिहरु आउन सम्भव नभएपछि भौतिक र अनलाइन मार्फत सहभागीता जनाउन पाउने गरि प्रवन्ध मिलाईएको अध्यक्ष ओमनारायण जुग्जालीले बताए । मोना आईसीसीको जिल्लाको आर्थिक, सामाजिक र मानविय सेवामा महत्वपूणर् योगदान रहदै आएको छ।