बेनीकोतमा पूर्वाधार निर्माण

  • ३१ आश्विन २०७८, आईतवार
  • 1261 पटक पढिएको

बेनी, ३१ असोज । सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका-८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीणर् भइसकेको थियो । बेनी नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न व्यवस्थापन र संरक्षणको काम सुरु गरेको हो ।

नगर कार्यपालिकाका प्रवक्तासमेत रहनुभएका वडाध्यक्ष रामकृष्ण बराइलीले चालु आर्थिक वर्षमा दुई शीर्षकमा विनियोजन गरिएको रु १३ लाखबाट कोतघर पुनःनिर्माण र व्यवस्थापनको काम थालिएको बताए । रु पाँच लाखबाट पहिलो चरणमा कोतघर परिसरको सार्वजनिक जग्गालाई व्यवस्थित र संरक्षण गर्न पूर्वाधार निर्माण भएको भने रु आठ लाखबाट कोतघर पुनःनिर्माण गर्न लागेका छौँ । कोतघर संरक्षण तथा व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा इँटा राख्ने काम सकिएको बताए । यसअघि उपयोगविहीन रहेको सो जग्गामा अहिले बालबालिका खेल्न र ज्येष्ठ नागरिकलाई टहलिन मिल्ने गरी पूर्वाधार बनाइएको छ । साँघुरो ठाउँ र सडक भएको बेनीमा भेला, बैठक, सभा सञ्चालनका लागि पनि सो जग्गा उपयोगी हुने देखिएको छ ।

विसं १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालिन राजधानी बेनी थियो । प्राध्यापक कणर्बहादुर बानियाद्वारा लिखित ‘म्याग्दीको इतिहास, संस्कृति र सम्पदा’ नामको पुस्तकमा पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेको उल्लेख छ । ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायत हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने (टक्सार) बनाएका थिए । कोतघरमा बडादसैँ र चैतेदसैँमा पूजाआजा तथा बलि चढाउने गरिन्छ