दशैघरमा विधिपूर्वक फूलपाती भित्र्याईयो (तस्बिर सहित)

  • २६ आश्विन २०७८, मंगलवार
  • 67 पटक पढिएको

 

म्याग्दी २६ असोज । आज फुलपाती, बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ । म्याग्दीको बेनीकोट, ज्यामरुकोट, भगवतीकोट, मौवाफाँट कोट, पिप्लेकोट, घतानकोट, ताकमकोट लगायतका भगवती देवी मन्दिर तथा कोतहरुमा विधिपूर्वक फुलपाती भित्र्याईएको छ ।


कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ । दसैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्र्याईन्छ ।

फूलपातीसंगै दसैं पूर्णरुपमा सुरु हुन्छ । फुलपातीका दिनदेखि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शिक्षण संस्था, गैरसरकारी संघसंस्थाहरु विदा हुने गर्दछन् । यसो हुँदा मानिसहरु फुर्सदिला भई टाढाटाढा रहेका आफ्ना घर जाने मौका पाउँछन् । दशैं मान्न घर फर्किनेहरूको भिडले यातायात साधन भरिभराउ हुन जान्छन् । बजारहरुमा विशेष चहलपहल सुरु हुने र नयाँनयाँ अनुहारका मानिसको आवतजावतले रमाईलो अनुभूति गराउँदछ । फूलपातीकै दिनदेखि गाउँघर शहरबजारमा रोटे र लिङ्गे पिङ हाल्न थालिन्छ ।