एकीकृत समाजवादी म्याग्दीको चियापान कार्यक्रम सम्पन्न

  • २५ आश्विन २०७८, सोमबार
  • 973 पटक पढिएको

म्याग्दी २५ असोज । नेकपा एकीकृत समाजवादी म्याग्दीले शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरेको छ । विजया दशमी, शुभ दीपावली, छठ, नेपाल सम्बत लगायतका चाडपर्वको उपलक्ष्यमा सोमबार बेनीमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्ला स्थित राजनीतिक दल र संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत जनप्रतिनिधि, सञ्चारकर्मी एवम् पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सांसद तथा माओवादी केन्द्रका नेता विनोद केसीले मुलुकमा परिवर्तनकारी र परिवर्तनको विरुद्धमा रहेका शक्तिहरुबिचको लडाई रहेको बताउँदै क्रान्तिकारी शक्तिहरुबिचको धु्रवीकरण जरुरी रहेको बताउनुभयो ।


कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सहसचिब भरत रकाल, माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य टेकबहादुर बिकले एकीकृत समाजवादीमा युवाहरु अग्रपङ्तिमा रहेकाले सत्य र तथ्यको मात्र विश्वास गरी सकारात्मक सोचले अगाडि बढ्न शुभकामना दिनुभएको थियो । एकीकृत समाजवादी पर्वतका जिल्ला सदस्य चन्द्रबहादुर लामिछानेले आफू एकीकृत समाजवादीको निडर योद्धा रहेकाले जुनसुकै अवस्थामा पनि सामजवादीको साथ नछोड्ने र सबै समुदायलाई यस पार्टीमा गोलबद्द हुन आह्वान गर्नु भयो ।


शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एकीकृत गण्डकी प्रदेश सदस्य देउप्रसाद छन्त्याल, बेनी नगरपालिका–८ का वाड अध्यक्ष रामकृष्ण बराइली, बेनी नगरपालिका–६ का वाड अध्यक्ष कृष्णसिंह बानियाँ, माओवादी केन्द्र रघुगङ्गा गाउँपालिकाका अध्यक्ष हरि भण्डारी, उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, पत्रकार महासङ्घ म्याग्दीका कोषाध्यक्ष अमित विश्वकर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेकपा एकीकृत समाजवादीले जिल्लामा सार्वजनिक रुपमा पहिलोपटक कार्यक्रम संचालन गरेको हो । एकीकृत समाजवादी म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यालय सचिव रुद्र किसानले गर्नुभएको थियो ।