मुस्ताङी भेडाच्याङ्ग्राको मुल्य बढ्यो (फोटोफिचर )

  • १९ आश्विन २०७८, मंगलवार
  • 1389 पटक पढिएको

 

म्याग्दी, १९ असोज । दशैँलाई लक्षित गरि बजारमा ल्याईएका भेडाच्याङ्ग्राको मुल्य बढेको छ । चाडपर्वको समयमा बजारमा हुने मासुको मागलाई पूर्ति गर्न हिमाल पारिको जिल्ला मुस्ताङबाट ल्याईएका भेडाच्याङ्ग्राको मुल्य बढेपछि सर्वसाधारणको लागि दशैँ खर्चिलो बन्ने भएको छ । गत बर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मुल्य बढेको व्यापारीहरुले बताएका छन् । लेकाली भेगमा पालिएका भेडाच्याङ्ग्राको मासु स्वादिलो र पोसिलो हुने भएकाले दशैँ लगायतका चाडपर्वमा भेडाच्याङ्ग्राको माग अध्यधिक हुने गर्छ ।


यो बर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरुले उत्पादन गरेका भेडाच्याङ्ग्राले माग नधान्ने भएपछि कृषक र बिचका व्यापारीहरुले मुल्य बढाएका हुन् । मुस्ताङमा उत्पादन भएको र डोल्पादेखि मुस्ताङ हुँदै ल्याइएका भेडाच्याङ्ग्रालाई यतिबेला बजारमा विक्रिका लागि धमाधम ल्याउन थालिएको छ ।
जोमसोम पुगेर २ सय च्याङ्ग्रा खरिद गरि ल्याएका सिन्धुपाल्चोकका अमर बहादुर ठकुरीले अघिल्लो बर्षको तुलनामा प्रतिगोटा ५ देखि ११ हजारसम्म मुल्य बढी तिर्नुपरेको बताए । ‘‘ अघिल्लो बर्ष प्रतिगोटा २५ हजारसम्ममा खरिद गथ्र्यौ, यो बर्ष ३५ हजार सम्म परेको छ, पोखरा सम्म पुर्‍याएर विक्रि गर्दा ४० हजार सम्ममा विक्रि गर्ने हो’’-ठकुरीले भने ।


लामो समयदेखि भेडाच्याङ्ग्राको व्यापार गर्दै आएका ठकुरीले यो बर्षको मुल्य अहिलेसम्मकै अत्यधिक बृद्धि भएको पाएको बताए । यो बर्ष मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका स्थानका किसानले पालेका भेडाच्याङग्रा बजारमा भित्र्याईएको छ ।

म्याग्दी, पर्वत, बागलुङ , कास्की, बुटवल लगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारिहरुले भेडाच्याङ्ग्राहरु बजारमा ल्याउन सुरु गरिसकेका छन् । बजारमा रोजा भेडाच्याङ्ग्रालाई ४५ हजारसम्म पर्ने देखिएको छ । मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएर बजारमा विक्रि गर्न थालेका नक्कुल सुवेदीले किसानबाट खरिद गरि ल्याएका बिचका व्यापारीले मुल्य बढाउँदा भेडाच्याङ्ग्राको मुल्य बढ्न गएको बताए ।


मंगलवार सम्ममा मुस्ताङबाट करिब १० हजार बढी भेडाच्याङ्ग्रा निकासी भएको छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले स्थानीय तह, बंगुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरुसंग समन्वय गरेर भेडाच्याङ्गाको स्वास्थ्य परिक्षण गरेर मात्रै निकासी दिने गरेको जनाएको छ ।

उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राहरुले बिषेश गरी लेकालि जडिबुटिहरु खाने भएकाले दशैँ तिहार जस्ता पर्वहरुमा पोसिलो मासुको रुपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ ।