सडकका ठेकेदारले अवैध रूपमा मासे दुरबिनडाँडाको पहाड (भिडियो र तस्विर सहित)

  • १८ आश्विन २०७८, सोमबार
  • 800 पटक पढिएको

म्याग्दी १८ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको दुरबिन डाँडाको पहाडलाई सडक निर्माण गर्ने निर्माण कम्पनीले ध्वस्त बनाएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत कालोपत्रे सहित सडक स्तरोन्नती गर्न पोखरेबगर, घार, शिख चित्रे सडकमा परिचालित निर्माण कम्पनी मोतिदान–जयमाता जेभीले कार्यक्षेत्रमा राखेको क्रसरका लागि पहाडलाई ध्वस्त बनाएका हुन् ।

सडकको क्षेत्राधिकार भन्दा बाहिर गएर पहाडलाई अवैध रुपमा मासेर ढुंगा र गिटी झिक्ने गरेको स्थानीय सन्तोष बरुवालले बताउनुभयो । उहाँले रातीको समयमा लुकिछिपी रुपमा पहाडलाई डोजर लगाएर खन्ने गरेको र जथाभावि पहाड भत्काउँदा पहिरोको जोखिम समेत बढेको गुनासो गर्नुभयो ।

वातावरणीय पक्षको ख्याल नै नगरिकन स्थानीय सरकारलाई राजश्व समेत नतिरीकन पहाडबाट निर्माण सामाग्रीको उत्खनन गर्ने कार्य अवैध रहेको भन्दै स्थानीयबासीले विरोध जनाउँदै आएका छन् । यस अघि सडकले ओगट्ने भागको ढुंगा मात्रै निर्माण कम्पनीले प्रयोग गर्न पाउने सहमती भएपनि अहिले सडकको क्षेत्रभन्दा बाहिर गएर समेत ठुला खाडल बनाउने र पहाड नै मास्ने गरि निर्माण सामाग्री उत्खनन् भएको छ ।


यसैबिच अवैध रुपमा पहाडको दोहन भएको गुनासो बढेपछि वडा कार्यालयले तत्कालको लागि पहाडबाट ढुंगा र गिटी झिक्न रोक लगाएको छ । वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले एक विज्ञप्ती निकालेर अर्को छलफल र निर्णय नहुँदा सम्मलाई पहाडबाट ढुंगा र गिटी झिक्ने कार्य मा रोक लगाईएको जानकारी गराउनुभएको छ ।