बेनीमा ११ औं तोरन्ल गोल्डकप प्रतियोगिता सुरू (फोटोफिचर)

  • १५ आश्विन २०७८, शुक्रबार
  • 1136 पटक पढिएको

 

म्याग्दी, १५ असोज । थकाली समुदायको सांस्कृति पहिचानका रुपमा रहेको तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिताको ११ औं संस्करण शुक्रबार देखि बेनीमा सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तिनदिन सम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १८ समुहका एकसय १८ खेलाडीहरुले भाग लिएका छन् ।

गोल्डकप प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद प्रेमप्रसाद तुलाचनले थकाली समुदायको पहिचानका रुपमा रहेको ताराखेललाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतियोगिताले सघाउ पुर्‍याउने बताउनुभयो ।  थकाली समुदायको पौराणीक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक तिन/तिन वर्षमा प्रतियोगिता आयोजना हुने थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताए । कोरोना भाइरस संक्रमणका कारण गत वर्ष हुने खेल रोकिएर यसवर्ष भएको हो । 

प्रतियोगिताको बिजेताले नगद एक लाख रुपैयाँ र पाँचतोला सुनको गोल्डकप, शिल्ड, प्रमाणपत्र र मेडल तथा दोस्रोले पचास हजार रुपियाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तृतिय हुनेलाई नगद २५ हजार, मेडल र प्रमणपत्र तथा चौथो, पाँचौ हुने समूहलाई १० हजार र पाँच हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

खेललाई दिगोरुपमा सञ्चालन गर्न अक्षयकोषको स्थापना गरिएको थकाली सेवा समितिका केन्द्रिय अध्यक्ष सोम तुलाचनले बताउनुभयो । कोषमा अहिले सम्म ५१ लाख ५४ हजार रुपियाँ जम्मा भइसकेको बताउनुभयो । बेनीको थकाली सेवा समाजको सभाहलमा भएको कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  प्रतियोगिताको उद्घाटन हुनुपुर्व थकाली समुदायको जातीय पहिचान झल्कने झाँकी र बाजागाजा सहित बेनी बजार परिक्रमा गरिएको थियो ।