धौलागिरी हिमालमा नेपाली महिलाको किर्तिमान आरोहण सफल

  • १५ आश्विन २०७८, शुक्रबार
  • 1090 पटक पढिएको

कमल खत्री 
१५ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालमा नेपाली महिलाहरुले किर्तिमानी आरोहण गरेका छन् । पत्रकार समेत रहेकी पूर्णिमा श्रेष्ठ र पासाङल्यामु शेर्पाले शुक्रवार विहान धौलागिरि हिमालको सफल आरोहण गरका हुन् ।


श्रेष्ठ र शेर्पाको धौलागिरि आरोहणले आरोहिहरुमा नयाँ सन्देश र नेपालका लागि किर्तिमान कायम भएको आरोहण व्यवस्थापक कम्पनी सेभेन समिट ट्रेक्सका प्रवन्धक थानेश्वर गुरागाईले जानकारी दिए । उनका अनुसार, दुई नेपाली महिलाको उक्त आरोही टोलीमा सहभागी ५ जना विदेशी महिलाहरुले समेत धौलागिरिको सफल आरोहण गरेका छन् ।
शुक्रवार विहान ५ बजे धौलागिरिको चुचुरोमा २१ जनाले पाईला राखेका छन् ।

जसमध्ये आरोही, पथपदर्शक र आरोहण दलका सदस्य समेत गरि १० जना नेपाली रहेका छन् । पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गएको वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए ।अन्नपूर्णमा समेत पहिलो नेपाली महिलाहरुको तर्फबाट श्रेष्ठ र शेर्पा सम्मीलित टोलीले सफल आरोहण गरेका थिए ।

धौलागिरिमा यस अघि नेपाली महिलाहरुले आरोहण गर्न सकेका थिएनन् । यसैबिच सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने अभियानमा रहेका स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरियाले भने यस पटक पनि आरोहण स्थगित गरेका छन् । धौलागिरिमा मौसम प्रतिकुलताको कारण कार्लोसले यस पटक समेत आरोहण स्थगीत गरि काठमाण्डौ फर्किएको सेभेन समिटले जनाएको छ ।

धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोसले दुई दशकयता १२ औं पटक आरोहण गर्दा पनि धौलागिरीको शिखरमा पाइला राख्न सफल भएका छैनन् । गत वैशाखमा समेत कार्लोसले धौलागिरि आरोहणको प्रयास गरेका थिए । कार्लोसले आफ्नो ६० बर्षदेखि ८२ वर्ष उमेरमा नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजंगा, अन्नपूर्ण समेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको अरोहण गरिसकेका छन् ।
तस्बिर सौजन्य सेभेन समिट ट्रेक्स