घारखोला जलविद्युत आयोजनामा टनेल ब्रेकथ्रु (फोटो फिचर)

  • १३ आश्विन २०७८, बुधबार
  • कमल खत्री
  • 1239 पटक पढिएको

म्याग्दी, १३ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको टनेल ब्रेकथ्रु भएको छ । आयोजनाको बाँधस्थलदेखि आउटलेटसम्म पानी लैजानका लागि ३ हजार ५ मिटर लामो टनेलको बुधवार ब्रेकथ्रु भएको हो । आयोजनाका प्रवद्र्धक, लगानीकर्ता, प्राविधिक लगायतको उपस्थितिमा बुधवार टनेल खन्ने कामलाई पूर्णता दिईएको थियो ।

बाँध रहेको अन्नपूर्ण गाउँपालिका ५ नम्बर वडा शिख र ६ नम्बर वडा घारको सिमा क्षेत्रमा पर्ने कुरीलाबगरबाट १ हजार ६०५ मिटर र आउटलेट रहेको घारको अमिलाकाफलबाट १ हजार ४ सय मिटर सुरुङ खनेपछि दुबैतर्फ जोडिएको आयोजनाका आवासिय इञ्जिनियर जोसेफ बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार, टनेलको ब्रेकथ्रु भएसंगै आयोजनाको करिब ६२ प्रतिशत काम सम्पन्न भएको छ । २०७४ चैतबाट निर्माण सुरु भएको यस आयोजनाबाट आगामी असार मसान्तभित्रै विद्युत उत्पादन गर्ने गरि निर्माण कार्यलाई तिब्रता दिईएको छ ।

‘‘निकै लामो सुरुङलाई बिचमा अडिट विना नै दुई तर्फबाट मात्रै जोडिएको यो नेपालकै पहिलो टनेल हुनसक्छ, भौगोलिक चुनौतिका बिच नेपालकै प्राविधिकहरुद्धारा भएको यो महत्वपूर्ण उपलब्धी हो, अब आयोजनाको अन्य पूर्वाधार निर्माणले थप गति पाउँछ’’– इञ्जिनियर बज्राचार्यले भन्नुभयो । आयोजनाको सिभिलतर्फ ६८, हाईडोमेकानिकलतर्फ ५६, इलेक्टोमेकानिकलतर्फ ५० र प्रशारण लाइनतर्फ २० प्रतिशत काम सकिएको छ ।

बाँधतर्फ ९८ प्रतिशत काम सकिएको यस आयोजनाको विद्युतगृहतर्फ पेनस्टक पाईप जडान सुरु भएको छ भने विद्युतगृहको पूर्वाधार निर्माण अघि बढेको सिभिल ठेकेदार कम्पनी साउथ एसियन इन्फास्ट्रक्चर प्रा.लिका आयोजना म्यानेजर ध्रुव मिश्रले जानकारी दिनुभयो । टनेल खन्ने क्रममा भौगोलिक खालका धेरै समस्या आएपनि त्यसको सामना गर्दै टनेल ब्रेकथ्रु सम्भव भएको उहाँको भनाई छ ।

सुरुङ मार्ग हुँदै ल्याइएको पानीलाई ४८५ मिटर अग्लो हेडबाट एक हजार २०० मिटर पेनस्टक पाइपमार्फत पोखरेबगरमा रहने विद्युतगृहमा खसालेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । म्याग्दी हाइड्रोपावर कम्पनि प्रवद्र्धक रहेको यस आयोजनामा नागरिक उर्जा बुटवल लिमिटेडले समेत लगानी गरेको छ भने एनएमबि बैँकको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कमर्सियल बैँकले समेत लगानी गरेका छन् । कुल रु २ अर्ब ४२ करोड लागत अनुमान गरिएको यस आयोजनामा कोरोनाका कारण आयोजना निर्माणको काम पछि थकेलिएसंगै लागत बढ्ने देखिएको आयोजनाले जनाएको छ ।

आगामी माघ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य अनुसार निर्माण सुरु भएको यस अयोाजनामा कोरोना लगायतका कारणले निर्माण कार्यमा केहि ढिलाई हुन पुगेपनि आगामी असार सम्ममा आयोजनाको काम सम्पन्न गर्ने गरि निर्माण कार्यलाई तिब्रता दिइएको आयोजनाको परामर्शदाता कम्पनी हाइड्रोकन्सल्ट इञ्जिनियरिङ्ग लिमिटेडका कार्यकारी अधिकृत मनोहर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विद्युतगृह रहने पोखरेबगरदेखि दाना सबस्टेशन सम्मको ८ किलोमिटर लामो ३३ केभिएको डबल सर्किट प्रशारण लाईनको काम समेत अघि बढेको छ ।

डिजाइनको काम सकिएको र आबश्यक निर्माण सामाग्री अधिकाँश कार्यक्षेत्रमा ल्याइसकिएकाले आगामी ४ महिनाभित्रमा प्रशारण लाइनको काम सम्पन्न हुने उहाँको भनाई छ । यस आयोजनामा सिभिलतर्फ साउथ यसियन इन्फास्ट्रक्चर प्रा.लि, इलेक्टोमेकानिकलतर्फ सिमोर इनर्जि प्रा.लि., हाइड्रोमेकानिकलतर्फ सिई हाईड्रोमेकानिकल प्रा.लि., र प्रशारण लाईनतर्फ रोयल कन्ट्रक्सन प्रा.लि.ले ठेक्का लिएका छन् भने परामर्शदाता कम्पनीमा हाईड्रोकन्सल्ट इञ्जिनियरिङ्ग लिमिटेड रहेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l