कालीगण्डकी बचाऔँ अभियान : ‘नदी सप्तक’ पोस्टर कविता शृङ्खला ~ ११

  • १२ आश्विन २०७८, मंगलवार
  • 1945 पटक पढिएको

कालीलाई दागबत्ती
———————
© जनक कार्की
सभ्यताको शृंगारमा
मायालु मुस्कानले स्वागत गर्ने
ऋषिमुनिको पाठशाला
वेदका ऋचाहरूको जनक
शालिग्रामको कालो टीकामा ध्यानस्थ
परम्परा र संस्कारको गुरु
प्रत्येक श्वासमा सुमार्ग सुसाएर
प्राणजल पिलाउने
कालीको दागबत्ती दिन लम्केका छन्
असुररूपी सरकारको हात
कालीसँगै निभ्नेछ
जलचरको दियो
स्थलचरको खुसी
नभचरले आगो पिउनुपर्नेछ
मरुभूमि बन्नेछ- तपोभूमि
वातावरण सिकिस्त भएर
आईसीयूमा पुग्नेछ ।
विकासको ललिपप देखाएर
विनाशको षड्यन्त्र गरिरहेको
ए सरकार !
पानीमा आगो लगाउने यो दुस्साहसले
जननीलाई जिउँदै दागबत्ती दिने
तिम्रो तयारीले
बन्नेछ यो देश आत्माबिनाको पुत्ला !
० ० ०
तानसेन, पाल्पा
#Save Kaligandaki