एनआरएनए अध्यक्षमा अमेरिकामा रहनुभएकी म्याग्दीकी रविना थापाको उम्मेदवारी घोषणा

  • ७ आश्विन २०७८, बिहीबार
  • 1535 पटक पढिएको

म्याग्दी ७ असोज । म्याग्देली चेली रविना थापाले गैर आवासीय नेपाली संघको अध्यक्षका लागि उम्मेदवारी  िदने घाेषणा गर्नुभएकाे छ । अमेरिकामा बस्दै आउनुभएकी अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष समेत रहनुभएकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२१– २०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।


घोषणा सभामा बोल्दै थापाले  सुरक्षित वैदेशिक रोजगार र समृद्ध नेपालको एजेण्डालाई स्थापित गर्ने गरि आफुले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिन लागेको बताउनुभयो । उहाँले एनआरएनएमा महिला नेतृत्वको आवश्यकता रहेको बताउँदै सबै आकाँक्षिहरु सहित गैर आवासीय नेपालीहरुलाई समेत सहयोगको अपिल गर्नुभयो । ‘पहिलो चोटी एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौं ,यो एउटा इतिहास रहनेछ , महिला नेतृत्व स्थापित गराउन पनि यो अवसर हो’’–उहाँले भन्नुभयो ।

सबै देशहरुलाई समेटेर छिट्टै बलियो टिम निर्माण गरि प्रचार प्रसारमा जुट्ने उहाँको भनाई छ । कार्यक्रममा नै उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन् । भर्चुअल रुपमा सम्बोधन गर्दै जापानका ओम गुरुङले सचिव पदमा उम्मेदवारी दिने बताउनुभएको छ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा थापाले कुल आचार्य समूहबाट महिला उपाध्यक्षमा चुनाव जित्नुभएको थियो ।

आउँदो अक्टोबरमा हुन लागेको संघको दशौं महाधिवेशनमा कांग्रेस निकट थापा संगै कुल आचार्य पनि अध्यक्षको प्रत्यासीको रुपमा देखिनुभएको छ । आचार्य अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा पराजित हुनुभएको थियो । दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि संघको अध्यक्ष पदमा बेलायतका कुल आचार्य र रसियाका डा. बद्री केसीले पनि उम्मेदवारी दिने बताइउको छ । आचार्य र थापा कांग्रेस निकट र डा. केसीलाई नेकपा एमाले निकटका उम्मेदवारको रुपमा हेरिएको छ ।