मंगला गाउँपालिकामा वाइसीएल गठन, अध्यक्षमा विनय पाण्डे
- ७ आश्विन २०७८, बिहीबार
- 1100 पटक पढिएको
म्याग्दी, ७ असोज । म्याग्दीको मंगला गाउँपालिकामा विहिबार विनय पाण्डेको अध्यक्षतामा नेकपा माओवादी (केन्द्र)को भातृ संगठन वाइसीएलको ३३ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । गाउँपालिकाको केन्द्र बाबियाँचौर भेलाबाट गाउँकमिटीसंगै वडा कमिटी पनि गठन गरिएको छ। मंगला गाउँपालिकाको वडानम्वर १ मा मनप्रसाद विकको अध्यक्षतामा ११ सदस्यीय, वडानम्वर २ मा प्रकाश पाण्डेको अध्यक्षतामा ९ सदस्यीय, वडानम्वर ३ मा बविन किसानको अध्यक्षतामा १५ सदस्यीय, वडानम्वर ४ मा कुमार केसीको अध्यक्षतामा १३ सदस्यीय र वडानम्बर ५ मा धनप्रसाद रोकाको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी गठन गरिएको अनेरास्ववियू क्रान्तिकारी म्याग्दीका प्रथम उपाध्यक्ष भागिरथ पाण्डेले जानकारी दिए ।
बाईसिएलको भेलालाई संम्बोधन गर्दै नेकपा माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज गोबिन्द पौडेलले माओवादीले जनयुद्धबाट प्राप्त गरेको गणतन्त्र, समावेशी, संघिय ब्यवस्था सहितको संबिधानको रक्षाका लागि देशमा फेरी एक पटक माओवादीको नेतृत्व आवश्यक रहेको बताए । राजनीतिक परिवर्तनलाई संस्थागत र जनताको आधारभूत आवश्यकता पुरा गर्दै बिभेदरहित समाज निर्माण, बिकास र आर्थिक समृद्धिको लागि माओवादीको एजेण्डालाई साथ लिएर युवाहरु अघि बढ्न आग्रह गरेका थिए ।
त्यस्तै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर विकले वाईसिएलमा आवद्ध युवाहरुले समाज रुपान्तरणमा एकताबद्ध भएर लाग्न आग्रह गरेका थिए। युवाहरुको नेतृत्व विना गाउँको विकास असम्भव हुने बताउदै समाजलाई आत्मनिर्भर बनाउने काम युवाहरुको मेहनतले सम्भव हुने बताए । कार्यक्रममा वाईसिएल नेपालका केन्द्रिय सदस्य नगेन्द्र केसीले शुभकामना मन्तव्य राखेका थिए ।
वाइसिएल नेपाल मंगला गाउँपालिका पुर्व संयोजक बालकृष्ण पुर्जाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पुर्व सहसंयोजक दरविर पुनको संचालनमा भेला सम्पनन भएको थियो ।