काँग्रेस बेनी नगरको अधिवेशनमा विक्रम बोगटीको नेतृत्वको प्यानल घोषणा

  • ६ आश्विन २०७८, बुधबार
  • 1276 पटक पढिएको

म्याग्दी ६ असोज । नेपाली काँग्रेसको बेनी नगर समितिको अधिवेशनमा विक्रम बोगटी नेतृत्वको प्यानल घोषणा भएको छ । बुधवार बेनीमा आयोजित उमेद्वार घोषणा कार्यक्रममा सभापतिमा युवा नेता विक्रम बोगटी रहनुभएको समूहले उम्मेदवारहरुको प्यानल घोषणा गरेका हुन ।

विद्यार्थी राजनीतिबाट खारिनुभएका बोगटीको नेतृत्वको समूहबाट उपसभापतिमा हरिप्रसाद पौडेल, मानकाजी घिमिरे, सचिबमा ज्ञानेन्द्रकुमार श्रेष्ठ,रणबहादुर शाही, सहसचिबमा शान्ति शर्मा पौडेल र शानिमयाँ कार्कीलाई अघि सारिएको छ ।बोगटी नेतृत्वको प्यानललाई आगामी सातौँ जिल्ला अधिवेशनमा पार्टी सभापतिको लागि उम्मेदवार बन्न लाग्नुभएका संविधान सभा सदस्य रेशमबहादुर बानियाँको समूहले समर्थन जनाएका छन् । नगरसभापतिका दावेदारको रुपमा मानिनुभएका वर्तमान नगरसभापति अनोद श्रेष्ठ र रमेशकुमार श्रेष्ठले समेत बोगटी नेतृत्वको टिमलाई समर्थन जनाउनुभएको छ ।


उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै नगरसभापतिका प्रत्यासी बन्नुभएका युवा नेता बोगटीले म्याग्दी काँग्रेसका अग्रज नेताहरुको साथ, सहयोग र समर्थनमा युवाहरुको नेतृत्व स्थापित गर्ने गरि सबै क्षेत्रलाई समेटेर उम्मेदवारहरु तय गरिएको बताउनुभयो ।

उहाँले काँग्रेसमा धनबाद र डनबादको भ्रम छर्नेहरु बढ्दै गएको भन्दै मुल्य, मान्यता, इमान र निष्ठाको राजनीतिलाई स्थापित गराउन आफ्नो समूहले उम्मेदवार तय गरेको बताउनुभयो । ‘‘के काँग्रेसमा निष्ठा हराएको हो? हिजोआजा यो धनबाद र डनबादको प्रवृति मौलाएको छ, सामान्य परिवारको मान्छे पार्टीको नेतृत्वमान पुग्नै सक्दैनन् ? यो गम्भिर प्रश्न पार्टीमा देखिएको छ, हामीले नेता, कार्यकर्ता हुँदै जनतालाई समेत काँग्रेस सबैको पार्टी हो भनेर चिनाउन जरुरी भैसकेको छ, नगरमा मेरो नेतृत्वको बिजयीले त्यो सम्भव गराउने विश्वास लिएको छु’’ उहाँले भन्नुभयो ।


उम्मेदवार घोषणा कार्यक्रममा संविधान सभा सदस्य एवम् निवर्तमान पार्टी सभापति रेशमबहादुर बानियाँले राजनीतिमा इमान र निष्ठा बोकेका युवाहरुको नेतृत्व स्थापित गराउन बोगटीको नेतृत्वमा रहनुभएका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्नुभयो । वर्तमान नगरसभापति अनोद श्रेष्ठले भरपर्दो , वैचारिक, राजनीतिक चरित्रको उत्तराधिकारीको रुपमा नेतृत्व हस्तान्तरण गर्नका लागि बोगटीको नेतृत्वमा रहनुभएका उम्मेदवारहरुलाई बिजयी गराउनुपर्नेमा जोड दिनुभयो ।


बेनपा–७ का वडा सभापति रमेशकुमार श्रेष्ठको सञ्चानलमा सम्पन्न कार्यक्रममा वडा नम्बर ३ का सभापति क्याप्टेन जसबहादुर पुनले समेत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा बेनी नगरपालिकाभित्रका नवनिर्वाचित वडा सभापतिहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा बेनी नगरपालिकाभित्र रहेका १० वटा वडा मध्ये ९ वटा वडाका वडा सभापतिहरुको उपस्थिति रहेको थियो ।


काँग्रेस नगरसभापतिमा यस अघि बेनी नगरपालिका–९ घतान निवासी निर्माण व्यवसायि समेत रहनुभएका रविन्द्र कार्कीले समेत नगरसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । गत भदौ १८ गते वडा अधिवेशन सम्पन्न गरेको काँग्रेसको असोज ९ गते गाउँ÷नगर अधिवेशन हुँदै छ ।