अनेरास्ववियुको गण्डकी प्रदेश संयोजकमा म्याग्दीका पौडेल चयन

  • २ आश्विन २०७८, शनिबार
  • 817 पटक पढिएको

म्याग्दी २ भदौ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको गण्डकी प्रदेश कमिटीको संयोजकमा म्याग्दीका विद्यार्थी नेता प्रकाश पौडेल चयन हुनुभएको छ । शनिवार सम्पन्न केन्द्रीय सचिबालयको पूर्ण बैठकबाट अनेरास्ववियूको नेतृत्व परिवर्तन सहित जिम्मेवारी हेरफेर गरिएको छ ।


अनेरास्ववियु म्याग्दीका पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका केन्द्रीय सचिबालय सदस्य पौडेललाई बैठकले स्थाइ कमिटी सदस्य तथा प्रदेश संयोजकको जिम्मेवारी दिएको हो । गण्डकी प्रदेश संयोजकमा चयन गर्ने पार्टी र संगठनको नेतृत्वको विश्वासलाई आत्मसाथ गरि प्रदेशमा संगठनको कामलाई थप गतिशिल बनाउन सक्रिय हुने पौडेलले बताउनुभयो ।

१२ बर्षकै उमेरदेखि नै अनेरास्ववियुको प्रारम्भीक कमिटीको अध्यक्ष हुदै जिल्ला कमिटीमा प्रवेश गरि उहाँले विद्यार्थी राजनीतिको यात्रा सुरु गर्नुभएको थियो । अनेरास्ववियुको ३ कार्यकाल जिल्ला सदस्य हुँदै २०७१ साल पौषमा सम्पन्न जिल्ला अधिवेशनबाट २० बर्षकै उमेरमा जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पौडेल २०७२ मा भएको राष्ट्रिय महाधिवेशनमा धौलागिरिबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । सरल स्वभावका पौडेल कुसल संगठकका रुपमा परिचित हुनुहुन्छ ।