धौलागिरि आधार शिविरमा आरोहीहरुको चहलपहल

  • २ आश्विन २०७८, शनिबार
  • कमल खत्री
  • 992 पटक पढिएको

कमल खत्री
म्याग्दी २ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आरोहणका लागि आरोहीहरुको चहलपहल बढेको छ । भदौ अन्तिम सातादेखि आधार शिविरमा हिमाल आरोहणका लागि ओरोहीहरु पुग्नेक्रम बढेको छ । यो सिजनमा आरोहणका लागि आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगीहरु गरि करिब ७० जना आधार शिविरमा पुगेका छन् ।


सेभेन समिट ट्रेक्सबाट मात्रै आरोहणका लागि ४६ जनाको टोली आधार शिविरमा पुगेको छ । पाइनर एडभेन्चर र हिमालयन गाईड मार्फत समेत आरोहणका लागि पर्वतारोहीहरु आधार शिविरमा पुगिसेका छन् । सबैभन्दा धेरै आरोहीहरुको आरोहण गराउन लागेको सेभेन समिट ट्रेक्सका प्रवन्धक थानेश्वर गुरागाईका अनुसार, यो सिजनको आरोहणको लागि अधिकाँश आरोही आधार शिविरमा पुगिसेका छन् ।


बर्षा र ७२ घण्टे पिसीआर रिपोर्टको मापदण्डको कारण अधिकाँश आरोहीहरु म्याग्दीबाट हेलिकप्टर मार्फत नै आधार शिविर पुगेको गुरागाईले जानकारी दिनुभयो । अधिकाँश आरोही सवारी साधन हुँदै म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम र मंगला गाउँपालिकाको बावियाचौरबाट हेलिकप्टर मार्फत आधार शिविर पुगेका हुन् । सेभेन समिटको व्यवस्थापनमा यो सिजनमा २६ विदेशी सहित २१ जना नेपाली पर्वतारोहीले धौलागिरिको आरोहण गर्दै छन् ।

यो टोलीका आरोहीहरुमध्ये जम्मा ९ जना पर्यटकहरु मात्रै ताकम–मुदी हुदै आधार शिविर पुग्ने पदमार्गबाट पदयात्रा गरेर गएका छन् । केहि पर्वतारोहीहरु मुस्ताङको मार्फा हुँदै पदयात्रा गरेर समेत आधार शिविर पुग्ने गरेका छन् । नेपाली महिलाहरुको तर्फबाट धौलागिरिको पहिलो आरोहणको तयारीमा रहनुभएकी पत्रकार पूर्णिमा श्रेष्ठले अधिकाँश टोली आधार शिविर पुगिसकेकाले आफु मार्फा हुदैको पदमार्ग भएर आधार शिविरतर्फ जान लागेको जानकारी दिनुभयो ।

‘‘गत वैशाखमा नै धौलागिरिमा नेपाली महिलाहरुको तर्फबाट पहिलो पटक धौलागिरिको सफल आरोहण गर्ने कोसीस गरेका थियौँ, त्यस समयमा आधार शिविरमा कोरोना संक्रमण फैलिएपछि आरोहण स्थगीत गरेर फर्कनुपरेको थियो, यस पटक तीन जना महिलाहरुले पुनः आरोहणको लागि आधारशिविरतर्फ लागेका छौँ’’–उहाँले भन्नुभयो । धौलागिरिमा नेपाली महिलाहरुको पहिलो आरोहणको किर्तिमानका लागि पूर्णिमा श्रेष्ठ, पासाङल्यामु शेर्पा र मायाँ शेर्पा यो सिजनमा धौलागिरि आरोहणको तयारीका लागि आधारशिविर प्रस्थान गरिसक्नुभएको छ ।

यसैबिच सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने अभियानमा रहनुभएका स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया समेत धवलागिरि ‘बेसक्याम्प’ पुगिसक्नुभएको छ । धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गर्नुभएका कार्लोसले दुई दशकयता ११औं पटक आरोहण गर्दा पनि धौलागिरीको शिखरमा पाइला राख्न सफल हुनुभएको छैन ।

गत वैशाखमा समेत कार्लोसले धौलागिरि आरोहणको प्रयास गर्नुभएको थियो । कार्लोसले आफ्नो ६० बर्षदेखि ८२ वर्ष उमेरमा नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजंगा, अन्नपूर्ण समेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको अरोहण गरिसक्नुभएको छ । यस टोलीले आगामी अक्टोबर १५ भित्रमा आरोहण सकेर फर्कने गरि कार्यतालिका बनाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l