एमाले म्याग्दीको कार्यकर्ता भेला :‘ अनुशासनहिनहरुले पार्टी विभाजन गराएको सचिब गुरुङको दावि (भिडियो सहित)

  • २५ भाद्र २०७८, शुक्रबार
  • 685 पटक पढिएको

बेनी, २५ भदौ । नेकपा एमालेका केन्द्रिय कमिटि सचिब एवम् गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीमा रहेका अनुशासनहिन, अराजक र पटमुर्खहरुले पार्टी विभाजन गराएको बताउनुभएको छ । नेकपा एमाले म्याग्दीले शुक्रवार बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गुरुङले पार्टी विभाजन गर्ने माधव नेपाल लगायतका नेताहरुले पार्टी, नेता कार्यकर्ता र आन्दोलनलाई नै धोका दिएको टिप्पणी गर्नुभयो ।

‘‘पार्टी विभाजन गर्नैपर्ने बिचार, सिद्धान्त केहिमा मतभेद छैन, राखेका सबै माग पुरा गरिदिँदा समेत पार्टी छाडेर जानेहरु अराजक, अनुसासन हिन र पटमुर्ख हुन’’–गुरुङले भन्नुभयो । उहाँले माधव नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमतीमा कार्यदल बनेको र दुबै नेताको सहमतीमा कार्यदलमा १० बुँदे समझदारी बनेपनि नेता नेपालले लत्याएर भागेको बताउनुभयो ।

‘‘ दश बुँदे सहमती गरि पार्टीका दोस्रो पुस्तका सबै नेताहरु पार्टीमा फर्किए, तर उहाँ झन पछि सर्दै जानुभयो, गौरबगाथाको इतिहाँस र उज्वल भबिश्य बोकेको पार्टीलाई फोर्न के बाध्यता आइलाग्यो माधव नेपाललाई ? उहाँले प्रश्न गर्दै भन्नुभयो, प्रचण्डसंग लिखित सम्झौतामा फसेको सुनिएको छ ।’’ माओवादीकै नेताबाट आफुले केपी ओली र नेपाल संगै रहन नसक्ने र प्रचण्ड नेपाल बिच लिखित सम्झौता नै भएको जानकारी पाएको दावि गर्दै नेता गुरुङले नेता नेपालले पार्टी विभाजनको सैदान्तीक र साँगठनिक औचित्य पुष्टि गर्न नसक्ने जिकिर समेत गर्नुभयो ।

नेता नेपालले नेकपा एकता भंग भएपछि राखेका जेठ २ अघिको पार्टी संरचना, फागुन २८ पछी एमाले बैठकले गरेका निर्णय खारेज र नेताहरुमाथि गरिएको कारबाही खारेज गर्नुपर्ने माग सम्बोधन संगै पावर शेयरिङ गरि नेता नेपाललाई दोस्रो अध्यक्ष मान्न तयार हुँदा समेत पार्टी फोरेर गएको उहाँले बताउनुभयो । मुलुकका हरेक परिवर्तनको मोर्चाहरुमा एमालेको अगुवाई रहेको दावि गर्दै नेता गुरुङले छुटिएर गएको समूहले एमालेसंगै प्रतिस्पर्धा गर्नै नसक्ने दावि गर्नुभयो ।


उहाँले नेपालमा मुलपार्टीबाट विभाजन भएर गएका कुनैपनि समूह र दलहरु मुलप्रवाहमा आउन कठिन रहेको बताउँदै एमालेसंग बिचार, सिद्धान्त र संगठनमा कुनैपनि दलले जित्न नसक्ने उद्घोष गर्नुभयो । उहाँले आफ्नो पार्टीका प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र विपक्षि दलका नेतालाई प्रधानमन्त्री बनाउन भुमिका खेलेर नेपाल लगायतका नेताहरुले संसदीय राजनैतिक अपराध गरेको बताउनुभयो ।


कार्यक्रममा एमालेकै नेता किरण गुरुङले पार्टीभित्रको अन्तरविरोधलाई पार्टीभित्रै छलफल र बहस गर्नुपर्नेमा नेता नेपालले पार्टी चोइटाएर गम्भिर भुल गरेको बताउनुभयो । नेता नेपालले दक्षिणपन्थी अवसरवादी सरकार बनाउन गौरबमय इतिहाँस बोकेको पार्टीलाई विभाजन गर्ने गम्भिर गल्ती गरेको बताउँदै नेता तथा कार्यकर्ताहरुले गम्भिरताका साथ लिनुपर्ने बताउनुभयो ।

एमाले अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, सचिब बालकृष्ण सुवेदीको सञ्चालन र उपाध्यक्ष देवेन्द्र केसीको स्वागतमा सम्पन्न भएको भेलालाई संविधान सभा सदस्य नवराज शर्मा र गण्डकी प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले सम्बोधन गर्नुभएको थियो ।