म्याग्दीमा काँग्रेस अधिवेशन : पालिका स्तरको नेतृत्वमा युवाकै होडबाजी

  • २४ भाद्र २०७८, बिहीबार
  • 763 पटक पढिएको

म्याग्दी २४ भदौ । नेपाली काँग्रेसको नेतृत्वमा युवाहरुको होडबाजी देखिएको छ । म्याग्दीको वडातहमा भएको अधिवेशनले युवा पुस्तालाई नेतृत्वमा पु¥याएको छ । जिल्लाको ४५ वटा वडाहरुमध्ये आधाको हाराहारीमा युवाहरु वडाको सभापतिमा चुनिएका छन् ।

१८ भदौमा वडा अधिवेशन सम्पन्न गरेको काँग्रेसले भदौ २७ मा गाउँ/नगर पालिकाको अधिवेशन गर्दै छ । काँग्रेसको पालिका तहको नेतृत्वका लागि समेत युवाहरु नै कस्सिएका छन् । रघुगंगा, मालिका र धवलागिरि गाउँपालिकामा पार्टीको नेतृत्वमा युवाहरु नै आकांक्षी देखिएका छन् । रघुगंगामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, वडा नम्बर ३ का अध्यक्ष जीवनकुमार मल्ल र वडा नम्बर ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा पार्टीको पालिका समितिको नेतृत्वमा आकाक्षी देखिनुभएको छ ।

पार्टीको पालिका स्तरको नेतृत्वमा आकाँक्षी देखिनुभएका मल्ल र शेरपुञ्जा युवा हुनुहुन्छ । त्यसैगरि धवलागिरि गाउँपालिकामा काँग्रेसको नेतृत्वका लागि वर्तमान सभापती प्रेम पुन र सचिब नगेन्द्र ठकुरी आकांक्षी देखिनुभएको छ । ‘‘ हामी अहिले पार्टीलाई बलियो बनाउने अभियानमा छौँ, नेतृत्वमा विवाद छैन, सहमतीमै युवाको नेतृत्वमा पार्टीको नेतृत्व चुनिन्छ’’–ठकुरीले भन्नुभयो । त्यसैगरि मालिका गाउँपालिकामा खिम पुन र विरेन्द्र पुन पालिका समितिको नेतृत्वमा आकांक्षी देखिनुभएको छ ।

मालिकाको नेतृत्वमा आकांक्षी दुबै युवा हुनुहुन्छ । त्यसैगरि मंगला गाउँपालिकामा गोपाल भट्टचन र नरसिंह केसी र अन्नपूर्ण गाउँपालिकामा लेप्टेन बेलबहादुर पुर्जा र राजेश तिलिजा सभापतिको आकांक्षि देखिनुभएको छ । बेनी नगरपालिकामा बाहिर खुलेर नआएपनि भित्रि रुपमा धेरे जना नेतृत्वको लागि आकांक्षी देखिनुभएको र सहमतीमै नेतृत्व चयनको प्रयास गरिएको काँग्रेस नगर सभापति अनोद श्रेष्ठले जानकारी दिनुभयो ।