एक हप्तामा खुल्यो अबरुद्ध रहेको बेनी – पोखरा सडक

  • २४ भाद्र २०७८, बिहीबार
  • 1276 पटक पढिएको

म्याग्दी, २४ भदाै। गत भदौ १७ गते राती भएको अविरल वर्षाका कारण ठाउँ-ठाउँमा झरेका पहिरोका कारण एक सातादेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्गको अन्तर्गत पोखरा-बेनी सडक सडक खण्ड बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । भीषण वर्षापछि पर्वतको कुश्मा नगरपालिका-८ चुवादेखि मोदी गाउँपालिका-५ को साढे आठ किलोमिटर लम्बाइमा २० वटा पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो । साविकको धौलागिरिका चार जिल्लाहरु मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक नै अबरुद्ध हुँदा चार जिल्ला समस्यामा परेका थिए ।

मौसममा सुधार आएपछि भदौ १९ गतेबाट मध्यपहाडीको पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्सन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको प्रयासबाट बिहीबार साँझदेखि बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए। एक साता लामो प्रयासपछि एकतर्फी रूपमा मात्रै बाटो खुलाउन सकिएको भए पनि सवारीको दोहोरो ओहरदोहरका लागि भने अझै लामो समय लग्ने भएको छ ।

‘एक हप्ता लामो मिहिनेतपछि क्षत विक्षत बनेको बाटोलाई एकतर्फी रूपमा खुलाइएको छ । बाटो सुचारु भएपछि मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतबाट बाहिरिने तथा यी चार जिल्लामा भित्रिने सवारीहरू गन्तव्यतर्फ लागेका छन् ।’ बाटो बन्द हुँदा साबिकको धौलागिरिका चारै जिल्लाका सवारीहरू छुटेका थिएनन् भने भित्रिन आएका सवारीहरू जिल्लाको मोदी गाउँपालिका-५ पातिचौरमा रोकिएका थिए ।
बाटो सञ्चालनमा ल्याउनको लागि लामा कन्स्ट्रक्सनले पहिरोका विभिन्न ठाउँबाट सात वटा एक्स्काभेटर प्रयोग गरेको थियो। तर पहिरोसँगै आएका विशाल ढुङ्गालाई हच्काउन समेत नसक्दा नेपाली सेनाले लगातार तीन दिनसम्म विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाएपछि बाटो सञ्चालनमा आएको हो ।

तीन दिनसम्म सेनाले विस्फोट गराएपछि मात्रै एक्स्काभेटरले बाटो सफा गर्न सकिने अवस्था बन्यो’ नेपाली सेनाको केबलजंग गुल्म पर्वतका गुल्म पति सेनानी शमशेर बहादुर सिंह भन्छन्,‘ढुङ्गा फुटाउनको लागि पर्वतमा विस्फोटक पदार्थ नभएकोले म्याग्दीबाट ल्याएर विस्फोट गराइएको हो । यो बिचमा पैदल यात्रा गर्दै आएका धेरै नागरिकलाई सुरक्षाकर्मीहरूको सहयोगमा गन्तव्यमा पठाइएको छ ।’

मध्यपहाडीको पर्वत खण्ड साबिकको धौलागिरिको एक मात्र कालोपत्रे, सहज र छोटो सडक हो । यो सडक अवरुद्ध हुँदा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा दैनिक उपभोग्य सामग्री, तरकारी तथा फलफूल र पेट्रोलियम पदार्थको अभाव हुँदा सामग्रीको अभाव हुनुका साथै तरकारी र फलफूलको मूल्य आकासिएको थियो । तीजमा तरकारी र फलफूल लगायतका खाद्यवस्तुको उपयोग बढी हुने तर यही बेलामा ती वस्तुहरूको अभाव भएको बेलामा स्थानीय उत्पादनले बजार धान्न नसकेपछि तीजको बेलामा तरकारी र फलफूलको मूल्य ह्वात्तै बढेको थियो ।