म्याग्दीमा काँग्रेसको वडा समितिमा युवाहरुको नेतृत्व स्थापित
- २१ भाद्र २०७८, सोमबार
- 1257 पटक पढिएको
म्याग्दी २१ भदौ । राजनीतिमा नेतृत्व हस्तान्तरणको बहस बर्षौदेखि चलिरहेपनि ज्येष्ठ नागरिकको उमेरमा पुग्दा समेत नेतृत्व हस्तान्तरण नगर्ने विद्यमान परिपार्टीलाई म्याग्दीमा काँग्रेसको वडा अधिबेशनले क्रमभंग गरेको छ । एक नगरपालिका र ५ गाउँपालिकामा रहेका ४५ वटा वडाहरुमध्ये करिब आधाको हाराहारीमा युवाहरुले वडा समितिको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । भदौ १८ मा सम्पन्न वडा अधिवेशनबाट म्याग्दी काँग्रेसमा विगतको निरन्तरतामा क्रमभंग गर्दै वडा समितिमा युवाहरुको नेतृत्व स्थापित भएको छ ।
४४ वडामा पार्टीको नयाँ नेतृत्व चयन हुँदा ५ वटा वडामा ३२ बर्षभन्दा कम उमेरका युवाहरु वडा सभापतीमा चिर्वाचित भएका छन् । रघुगंगा गाउँपालिका–१ बेगमा निर्वाचित वडा सभापती सुर्य गर्वुजा (२५), वडा नम्बर ४ दग्नामका सभापती कृष्ण गर्वुजा (३२) वडा नम्बर ६ पाखापानी का सभापती भेषकुमार शेरपुञ्जा( २६), वडा नम्बर ७ चिमखोलाका सभापती प्रदिप पाईजा (२७), धवलागिरि गाउँपालिका–४ मुदीका वडा सभापती योगेस घर्ति मगर( २५) बर्ष उमेरका हुनुहुन्छ ।
तरुणदलबाट राजनीतिमा लाग्नुभएका चिमखोलाका नवनिर्वाचित वडा सभापती पाईजाले पार्टी संगठनलाई अग्रजहरुको मार्गदर्शन र युवाहरुको भिजनमा चलाउन आफु नेतृत्वमा आएको बताउनुभयो । ‘‘समाजलाई अहिलेको पुस्ताले नै परिवर्तन र विकसित गराउने हो, युवाहरु त्यसको लागि योगदान गर्न तयार हुनुपर्छ भन्ने मेरो मान्यता हो,’’– उहाँले भन्नुभयो ।
काँग्रेसको वडा सभापतीमा ३३ देखि ४५ उमेर सम्मका १५ जना निर्वाचित भएका छन् । यो उमेर समूहबाट नेतृत्वमा आउनेहरुमा रघुगंगा–२ भगवतीमा रत्नबहादुर भण्डारी, ३ नम्बर पिप्लेमा अशोक शाही, बेनी नगरपालिका–१ रत्नेचौरमा कोमल थापा, ४ सिंगामा सुमन बानियाँ, ६ नम्बर वडामा जिवन पौडेल, ७ नम्बर वडा बेनीमा रमेश श्रेष्ठ, ९ घतानमा सुवर्ण खत्री, अन्नपूर्ण गाउँपालिका–३ दानामा सुरत केसी, ५ नम्बर वडा शिखमा अर्जुन चोचाङ्गी, ६ घारमा कृष्ण बरुवाल, मालिका गाउँपालिका–३ डाँडागाउँमा हरिप्रकाश पुन, ५ देविस्थानमा भक घर्ति, ७ बिममा टुकमान गर्वुजा , धौलागिरि गाउँपालिका–५ मल्कबाङ्गमा अमर छन्त्याल र ६ नम्बर वडा मराङमा योगेन्द्र गुरुङ वडा सभापतीमा निर्वाचित हुनुभएको छ ।
नेपाली काँग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठका अनुसार बेनपा–५ पुलाचौरमा यामबहादुर बानियाँ र अन्नपूर्ण गाउँपालिका–६ घारमा कृष्णप्रसाद बरुवाल मतदान प्रकृयाबाट सभापतीमा निर्वाचित हुनुभएको हो । अन्नपूर्ण–१ दोवामा क्रियाशिल सदस्यता नविकरणको विवादले वडा अधिवेशन रोकिएको छ भने अन्य ४१ वटा वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो । काँग्रेसको वडा अधिवेशनबाट अधिकाँशमा नयाँ अनुहार नेतृत्वमा चुनिएका छन् । विगतमा गाउँ तहका नेतृत्वमा पुराना नेताहरु चुनिने गरेकोमा यस पटक क्रमभंग भएर युवाहरुको नेतृत्व स्थापित भएको काँग्रेस म्याग्दीका उपसभापती माधवप्रसाद रेग्मीले बताउनुभयो ।
‘‘काँग्रेस पुरानो पार्टी हो, यसमा पाका नेताले नेतृत्व गर्नुपर्छ भन्ने सोच थियो, अहिले वडा अधिवेशनबाट आएको नतिजाले काँग्रेस युवाहरुको पनि पार्टी हो, यो पार्टीलाई हाँक्न युवाहरुपनि तयार भैसके भन्ने सन्देश दिएको छ’’–उपसभापती रेग्मीले भन्नुभयो । वडा अधिवेशनबाट गाउँ÷नगर र जिल्ला अधिवेशनमा प्रतिस्पर्धा र सहभागी हुनका लागि छनौट भएका क्षेत्रिय प्रतिनिधिमा समेत युवाहरुको बर्चश्व छ । नेतृत्व हस्तान्तरणको सबालमा वडा अधिवेशनले पालिका र जिल्ला स्तरका नेताहरुलाई रचनात्मक सन्देश दिएको नेपाली काँग्रेस म्याग्दीका सहसचिब भरत बहादुर रकालले बताउनुभयो । ‘‘ वडा अधिवेशनको नतिजाले काँग्रेसमा युवाहरुको नेतृत्व स्थापित भएको स्पष्ट सन्देश दिएको छ, पालिका र जिल्ला स्तरको अधिवेशनमा समेत क्षेत्रिय प्रतिनिधिहरुले रचनात्मक भूमिका खेल्न सके पार्टी थप सुदृढ र बलियो हुने अपेक्षा गरेका छौँ’–उहाँले भन्नुभयो ।
युवा पुस्ताले रकाललाई आगामी जिल्ला अधिवेशनमा सचिब पदमा उम्मेदवारी दिन दबाब समेत दिन थालेका छन् । काँग्रेसले गाउँ÷नगरको भदौ २८ गते, प्रदेश निर्वाचन क्षेत्रमा असोज १ गते र एक निर्वाचन क्षेत्र रहेका जिल्लाको असोज ५ गते अधिवेशनको कार्यतालिका बनाएको छ ।
First of all I will to congratulate you youth candidate
Youth are the pillar of the nation .