अवरुद्ध बेनी- पोखरा सडक खुल्न २ दिन लाग्ने

  • २० भाद्र २०७८, आईतवार
  • 1059 पटक पढिएको

 

म्याग्दी, २० भदौ । बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध बेनी-पोखरा सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

अविरल वर्षापछिको पहिराले पर्वतमा ठूलो क्षति पुर्याउँदा साबिक धौलागिरिका पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङमा यातायातसँगै विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि नै खुलाउने प्रयास भए पनि कतै ठूला चट्टानसहितको पहिरो र कतै सडक नै बगाएका कारण लोकमार्ग एकतर्फी खुलाउन मङ्गलबार दिउँसोसम्म लाग्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । अहिले पाँचवटा स्काभेटर प्रयोग गरिएको छ, तर भ्याप्लेखोला नजिकै घरभन्दा ठूला चट्टान खसेका कारण नेपाली सेनासँग सहकार्य भइरहेको छ”, मरासीनिले भने, “मोदीको पाथी चौरबाट कुश्मातर्फ दुई स्काभेटर, कुश्माबाट पाथी चौरसम्म दुई र बीचमा एक स्काभेटर लगाएका छौँ ।

उनका अनुसार – भ्याप्लेखोलामा बम विस्फोट गरेर ढुङ्गा फुटाउने योजना भए पनि भौगोलिक हिसाबले अत्यन्तै कठिन छ । कल्पनाभन्दा ठूला पहिराले मध्यपहाडी लोकमार्ग क्षतविक्षत भएको र पुरानै अवस्थामा फर्काउन निकै समय लाग्नेछ । सवारी साधन ठप्प हुँदा तीन घण्टा लगाएर पैदलमार्फत जोखिमपूणर् यात्रा गर्न यात्रु बाध्य भएका छन् । पर्वतको दोविल्लामा एक सय मिटर सडक नै बगाएकाले नयाँ ट्र्याक खुल्नुपर्नेछ भने धेरै स्थानमा सडकको जग नै बगाएको छ ।

विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा भने शनिबार साँझदेखि सञ्चालन भए पनि सडक सञ्चालमा सिङ्गो चार जिल्लाको सम्पर्क विच्छेद भएको हो । १३२ केभिए प्रसारण लाइनको दोविल्ला नजिकैको टावरमा क्षति पुर्याउँदा बिहीबार रातिदेखि दाना-खुर्कोट प्रसारण लाइन बन्द भएको छ ।