रघुगंगाको कोभिड अस्पतालको रुपमा प्रयोग भएको आमासमूहको भवन पहिरोको जोखिममा
- १७ भाद्र २०७८, बिहीबार
- 1068 पटक पढिएको
बेनी, १७ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको भवन पहिरोको जोखिममा परेको छ । गाउँपालिकाले कोभिड अस्पताल सञ्चालन गरेको रघुगंगा गाउँपालिका–३ पिप्ले स्थित प्रगतिशिल आमा समूहको भवनमाथिबाट खसेको पहिरोले भवन उच्च जोखिममा परेको छ । कोरोनाको दोस्रो लहर चलेपछि गत बैशाखदेखि आमा समूहको भवनलाई गाउँपालिकाले कोभिड अस्पतालको रुपमा प्रयोग गर्दै आएको भएपनि भवन पहिरोको जोखिममा पर्दा समेत पहिरो रोकथामको लागि कुनै पहल नगरेको स्थानीय युवा सुर्य कार्कीले बताउनुभयो ।
गत साउन पहिलो साता भवनमाथिको पाखोबाट पहिरो खसेको थियो । उहाँका अनुसार, भवन संरक्षण गर्न तत्काल ग्याविन जाली र पर्खाल लगाउनुपर्ने छ । पहिरोले भवनदेखि माथि रहेका केहि घरहरु समेत जोखिममा परेका छन् ।
ठुलो ढुंगा सहित पाखोमा पहिरो खसेपछि भवन उच्च जोखिममा परेको र संरक्षणको लागि वडा र गाउँपालिकामा समेत ध्यानकर्षण गराउँदा समेत अहिलेसम्म पहिरो रोकथाम र नियन्त्रणको लागि कुनै कदम अघि नबढेको स्थानीय गोकुल कार्कीले जानकारी दिनुभयो ।
‘‘कोरोना अस्पतालका सामानहरु अहिलेपनि भवनमै छन्, तत्काल रोकथाम नगरे भवनमा क्षति पुग्ने निश्चित छ, तर गाउँपालिकाले रोकथामको लागि कुनै काम अघि बढाएको छैन, जति ढिला ग¥र्यो त्यति नै जोखिम बढेको छ’’– उहाँले भन्नुभयो । स्थानीयबासीले चन्दा संकबलन गरेर बनाएको भवन संकटको समयमा उपयोगी बनेपनि त्यसको संरक्षणमा स्थानीय सरकारले ध्यान नदिँदा स्थानीयबासी दुखित भएका छन् ।