अधिवेशनले गाउँ फर्किए काँग्रेस नेताहरु, नेताहरुलाई नै प्रतिनिधि छनौटमा सकस हुनसक्ने

  • १७ भाद्र २०७८, बिहीबार
  • 891 पटक पढिएको

बेनी, १७ भदौ । नेपाली काँग्रेसको भदौ १८ मा हुने वडा अधिवेशनले शहरकेन्द्रित भएका नेता, कार्यकर्ताहरुलाई गाउँ फर्काएको छ । काँग्रेसमा वर्तमान कार्यसमितिको केन्द्रिय पदाधिकारी र केन्द्रिय सदस्यहरु स्वत महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था छ । संघ र प्रदेशको पछिल्लो पटकको संसदीय निर्वाचनमा प्रत्येक्ष र समानुपातिकतर्फ उम्मेदवार बनेकाहरुलाई समेत स्वत क्षेत्रीय प्रतिनिधि छनौट हुने भएपनि यि बाहेक पार्टीको जुनसुकै पदमा उम्मेवार बन्नेहरु आफ्नो क्रियाशिल सदस्यता रहेको ठाउँबाटै प्रतिनिधि छनौट हुनुपर्ने बाध्यकारी प्रावधान छ ।


अधिवेशन नजिकिएसंगै काठमाण्डौ, पोखरा र सदरमुकाम बेनीमा बस्दै आएका काँग्रेसका जिल्ला स्तरका नेताहरु प्रतिनिधि छनौटका लागि गाउँ फर्किएका छन् । चाडपर्व मनाउनका लागि मात्रै गाउँ फर्कने कतिपय काँग्रेस नेताहरुलाई प्रतिनिधि चुनिएर आउन सकस पर्न सक्ने जोखिम रहेको जिल्ला स्तरका पार्टीका कतिपय नेताहरु स्विकार गर्दछ् । ‘‘ गाउँमा पार्टी जोगाउने हामीले, पार्टीका हरेक आदेश मानेर दुखसुखमा झण्डा र झोला बोकेर हिड्ने हामी, गाउँ कहिल्यै नफर्कने, जिल्लामा आफ्नो शक्ति देखाउन प्रतिनिधिको दावि गर्नेहरुको होडबाजी होला जस्तो छ’’ काँग्रेसका एक पाका नेताले भन्नुभयो ।

काँग्रेसमा अधिवेशनमा भाग लिन क्रियाशिल सदस्यता अनिवार्य हुनुपर्छ । गाउँ/नगर पालिका, निर्वाचन क्षेत्र र जिल्लाको अधिवेशनमा उम्मेदवार र सहभागी भएर भाग लिन क्षेत्रिय प्रतिनिधि चुनिएर आउनैपर्ने बाध्यता छ । गाउँ नै नफर्कने र जिल्ला स्तरकै नेतृत्व र केन्द्रिय महाधिवेशनको लागि प्रतिनिधिको आकांक्षीहरुमध्ये कतिपय नेताहरुलाई वडाबाटै प्रतिनिधि चुनिएर आउन चुनौति हुनसक्ने आंकलन समेत छ ।  जिल्लाका अधिकाँश वडामा नेतृत्व सर्वसम्मत हुने देखिएपनी क्षत्रिय प्रतिनिधमा अाकांक्षि धेरै हुनसक्ने अांकलन गरिएकाे छ ।

कांग्रेस को निर्वाचन कार्यतालिकाअनुसार १८ भदौमा वडा तहको अधिवेशन हुँदै छ । एक संघीय, दुई प्रदेश निर्वाचन क्षेत्र, ६ स्थानीय तह रहेको म्याग्दीका ४५ वटै वडामा निर्धारित मितिमा अधिवेशन गराउने गरि आबश्यक तयारी गरिसकिएको पार्टी केन्द्रले म्याग्दीमा तोकिएका जिल्ला मुख्य निर्वाचन अधिकृत निरञ्जनराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, ४५ वटै वडामा एक/एक जना मतदान अधिकृत नियुक्त गरि आबश्यक परामर्श र प्रशिक्षण दिएर निर्वाचन सामाग्री सहित खटाईएको छ । म्याग्दी काँग्रेसले वडा अधिवेशनको निर्वाचनका लागि नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरुलाई परिचालन गरेको छ । आगामी असोज पहिलो साताभित्र काँग्रेसले सबै तहमा नयाँ नेतृत्व पाउने भएकाले यतिबेला म्याग्दी काँग्रेसका नेता तथा कार्यकर्ताहरु उत्साहि देखिएका छन् । पालिका , क्षेत्र र जिल्लाको नेतृत्व संगै महाधिवेशन प्रतिनिधि छनौटमा वडाबाट चुनिएर आउने प्रतिनिधिहरु नै निर्णायक हुने भएकाले काँग्रेसमा वडा अधिवेशनलाई निकै चासोका साथ लिने गरिन्छ ।

जिल्ला बाहिर रहेका पार्टीका नेताहरु समेत वडा अधिवेशनको लागि गाउँ फर्किएपछि चलहपहल बढेको छ । म्याग्दीमा काँग्रेसको वडा अधिवेशनमा कुल २ हजार ८ सय ३९ जनाले भाग लिन पाउने छन् । पार्टी केन्द्रले सार्वजनिक गरेको क्रियाशिल सदस्यहरुको विवरण अुनसार, म्याग्दी काँग्रेसमा पुराना नविकरण भएका १ हजार ८४ जना र नयाँ थप भएका १ हजार ७५५ जना क्रियाशिल सदस्यहरुले मात्रै वडामा उम्मेदवार र नेतृत्व चयनमा मताधिकार पाउने जिल्ला पार्टी प्रवत्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो ।

काँग्रेसमा नयाँ संरचनामा पहिलो पटक हुन लागेको महाधिवेशनमा वडा, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला समितिमा समेत अधिकाँश पद प्रत्येक्ष निर्वाचनबाट चुनिने व्यवस्था गरिएको छ । तीनै तहमा सभापति एक जना, उप–सभापति, सचिब र सह–सचिब दुई÷दुई जना प्रत्येक्ष निर्वाचित हुने र निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष मनोनित गर्ने गरि पदाधिकारीको छनौट गर्ने नयाँ प्रावधान राखिएको छ ।

वडा अधिवेशनले वडाका ८ जना पदाधिकारी र सदस्य समेत गरि २३ जनाको कार्यसमिति चयन गर्नेछ । यसमा वडा सभापतिले २० प्रतिशत सम्म सदस्य मनोनित गर्न पाउने व्यवस्था छ । त्यसैगरि वडाबाट पालिका, प्रदेश निर्वाचन र जिल्ला अधिवेशन प्रतिनिधिको रुपमा १५ जना र सभापती समेत गरि १६ जनालाई प्रतिनिधिको रुपमा छनौट हुनेछन् । आगामी नेतृत्वका लागि जिल्लामा स्पष्ट दुई धारमा प्रतिस्पर्धा हुने संकेत देखिएपछि दुबै पक्षले आफ्नो पक्षका नेता कार्यकर्ताहरुलाई प्रतिनिधिमा जिताएर ल्याउन आन्तरिक कसरत सुरु गरेका छन् ।

काँग्रेसले गाउँ÷नगरको भदौ २८ गते, प्रदेश निर्वाचन क्षेत्रमा असोज १ गते र एक निर्वाचन क्षेत्र रहेका जिल्लाको असोज ५ गते अधिवेशनको कार्यतालिका बनाएको छ । काँग्रेसको जिल्ला नेतृत्वमा वर्तमान सभापति खमबहादुर गर्वुजा( खमवीर), निवर्तमान सभापति एवम् संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापति माधवप्रसाद रेग्मी, सचिब मिनबहादुर कार्की, पूर्व सहसभापति नेत्रबहादुर महत, महाधिवेशन प्रतिनिधि चिरञ्जिवी शर्माले सभापतिमा दावि गर्नुभएको छ ।