गलेश्वर शिवालय मन्दिरमा पित्तलको छाना राखियो

  • १६ भाद्र २०७८, बुधबार
  • 2255 पटक पढिएको

म्याग्दी १६ भदौ । बेनी नगरपालिका–९ स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो । विसं २०७७ फागुन १५ गते भएको कोषको १५ औँ कार्यकारी सभाले छाना फर्ने निर्णय गरेको थियो । मन्दिरको छाना परिवर्तन गर्ने काम सकिएको कोषका सदस्यसचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

‘आपूर्तिकर्तासँग गत चैतमै सम्झौता गरे पनि निषेधाज्ञाका कारण पित्तलको पाटा ल्याउन नसकेपछि ४ महिना काम हुन सकेन’, उहाँ भन्नुभयो, ‘गत साउन अन्तिम सातादेखि सुरु भएको गलेश्वर मन्दिरको छानामा पित्तल राख्ने काम मंगलबार सकियो ।’ मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले रु ५ लाख ५५ हजार ५ सय ५५ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँका बुबा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २० लाख खर्चेर मन्दिर निर्माण गर्नुभएको थियो ।

कुल रु ३१ लाख ५० हजार लागत अनुमान गरिएको पित्तलको छाना राख्ने योजनाका लागि कोषको आन्तरिक स्रोतबाट रु २७ लाखभन्दा बढी ब्यहोर्ने निर्णय भएको छ । यसअघि सिमेन्टको छानो वर्षेनी रङरोगन गरिँदै आएको थियो ।
अहिले छानोमाथि प्लाइउड र पित्तल राखिएको हो । पित्तलले छाएपछि आकर्षक देखिएको मन्दिर बलियो र टिकाउ हुने उहाँले बताउनुभयो । छानो फेर्न कोषका कोषाध्यक्ष बमबहादुर पुनको अध्यक्षतामा उपभोक्ता समिति बनाएर काम गरिएको हो । मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर यहाँको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।

हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाक्षा पूरा हुने विश्वास रहेको छ । मन्दिरमा भक्तजनले चढाउने भेटीबाट पूर्वाधार निर्माण, पूजा व्यवस्थापन, संस्कृत विद्यालय, वृद्धाश्रम र तीर्थयात्री निवास सञ्चालन भएको छ ।