स्थानीय सेवाका कर्मचारीको समायोजनका लागि बेनी नगरपालिकामा विद्येयक पारित

  • १५ भाद्र २०७८, मंगलवार
  • 1152 पटक पढिएको

म्याग्दी १५ भदौ । म्याग्दीको बेनी नगरपालिकाले स्थानीय सेवाका कर्मचारीको तह बढाएर समायोजन र ग्रेड बृद्धि गर्न विद्येयक पारित गरेको छ । मंगलवार सम्पन्न बिशेष नगरसभाले स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ सर्वसम्मत रुपमा पारित गरेको हो ।

नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा शुसासन समितिका संयोजक हिराबहादुर थापाद्धारा प्रस्तुत विद्येयक सर्वसम्मत रुपमा पारित भएको नगरपालिकाका सूचना अधिकारी युवराज थापाले जानकारी दिनुभयो ।
स्थानीय निकाय सेवामा प्रवेश गरि हालसम्म स्थायी रुपमा कार्यरत कर्मचारीहरुको समायोजन नभएको र २०७४ सालदेखि विज्ञापन र बढुवा नहुँदा कर्मचारीको बृत्ति विकास अबरुद्ध भएको भन्दै नगरपालिकाले कर्मचारी समायोजन ऐन २०७५ को दफा ६ को उपदफा ४ समेतलाई आधार मानेर विद्येयक ल्याएको जनाएको छ ।

विद्येयक पारित भएसंगै स्थानीय सेवामा कार्यरत रहेका साविकका नगर सेवा र अन्य स्थानीय निकायबाट सरुवा भएर नगरपालिकामा पदस्थापन भएका कर्मचारीहरुको तह तथा ग्रेड बृद्धि हुने भएको छ । विद्येयक पारित भएसंगै कम्तीमा ५ बर्ष स्थायी रुपमा कार्यरत र न्यूनतम शैक्षिक योग्यता पुगेका र स्थानीय सेवाका कर्मचारीहरुको तह बढाएर समायोजन हुने भएको छ ।

उक्त विद्येयक बमोजिम, सहायकस्तर चौथोको सहायकस्तर पाँचौमा, सहायकस्तर पाँचौको अधिकृतस्तर छैटौँ र अधिकृतस्तर छैठौँको अधिकृतस्तर सातौँमा तह बढुवा सहितको समायोजन हुनेछ । त्यसैगरि कम्तीमा ५ बर्ष स्थायी रुपमा कार्यरत र न्यूनतम शैक्षिक योग्यता नपुगेका स्थानीय सेवाका कर्मचारीहरुको हकमा सहायकस्तर चौथो र सहायकस्तर पाचौँको तह बढुवा नहुने र दुई/दुई ग्रेड थप हुने प्रवन्ध गरिएको छ ।

यसैबिच उक्त अवसरमा आर्थिक बर्ष २०७७/०७८ को बार्षिक समिक्षा समेत गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छबिलाल सुवेदीले जानकारी दिनुभयो ।