आर्थिक अभाबको सामाना गरेका खत्रीको उपचारमा पोर्तुगलमा रहेका राखुबासीबाट सहयोग

  • १४ भाद्र २०७८, सोमबार
  • 636 पटक पढिएको

म्याग्दी १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका जीतबहादुर खत्रीको उपचारमा पोर्तुगलमा रहेका राखुबासीले आर्थिक सहयोग गरेका छन् । पोर्तुगलमा रहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती र वडा नम्बर ३ राखु पिप्लेका बासिन्दाहरुले आर्थिक अभाबले उपचारबाट बञ्चित हुनुभएका खत्रीको उपचारमा रु ९४ हजार ५६ नगद सहयोग गरेका हुन् ।


आर्थिक अभाबको कारण उपचार गराउनबाट बञ्चित हुन नपरोस भन्ने उदेश्यले पोर्तुगलमा रहेका राखुबासीबाट सहयोग संकलन गरी पठाईएको आर्थिक संकलन अभियानको अगुवाई गर्नुभएका राजिन भण्डारीले जानकारी दिनुभयो । उपचारमा आर्थिक अभाब रहेको सम्बन्धमा परिवारको तर्फबाट सहयोगको अपिल भएको समाचार प्रकाशन भएपछि २१ जनाले ६८६ युरो संकलन गरि पठाईएको भण्डारीले बताउनुभयो ।

सहयोगदाताको विवरण

रक्तचाप, प्यारालाइसिस र मुटुको रोगले पीडित हुनुभएका ४८ बर्षिय खत्रीलाई उपचारमा आर्थिक समस्या भएपछि म्याग्दीअनलाईन डटकम लगायतका सञ्चार माध्ययमबाट समाचार प्रकाशन भएको थियो । आर्थिक स्रोत जुटाउन समस्या परेको समयमा पार्तुगलमा रहेका राखुबासीबाट प्राप्त सहयोगले राहत मिलेको भन्दै पीडित खत्रीकी श्रीमती राजकुमारीले सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको छ । रोजगार, व्यवसाय लगायतको शिलसिलामा पोर्तुगलमा पुगेका राखुबासीले राखुमा आईपर्ने प्राकृतिक विपत्ति, आर्थिक अभाबले उपचार गराउन नसकेका विरामी लगायतका सामाजिक र मानविय सेवाको क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन् ।

रक्तचाप र प्यारालाईसिस रोगबाट पीडित बनेपछि २०७७ चैत एक गतेदेखि पोखरास्थित हरिखर्क र चरक अस्पतालमा उपचार गराउदै आएपनि खर्च जुटाउन नसक्दा अहिले खत्रीको उपचार नै प्रभावित बनेको छ । चार महिनासम्म पोखरामा दुइ अस्पतालमा प्यारालाइसिस र टाउकोमा देखिएको समस्याको उपचार गर्दा २३ लाख रुपैया सकिएको पीडित खत्रीको श्रीमती राजकुमारी खत्रीले बताउनुभयो । पोखरामा उपचारको क्रममा औषधीले समस्या ठिक नभएपछि डाक्टरको सल्लाह अनुसार उपचारका लागि काठमाण्डौ गंगालाल अस्पताल पठाइएको छ ।