पहिरो र बाढीको कारण ६० जना विस्थापित

  • १४ भाद्र २०७८, सोमबार
  • 808 पटक पढिएको

म्याग्दी १४ भदौ । अविरल बर्षाको कारण आएको पहिरो र बाढीको कारण म्याग्दीमा ६० जना विस्थापित भएका छन् । पहिरो र बाढीको कारण घर जिल्लाको विभिन्न स्थानमा जोखिममा परेकाहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।
विस्थापित हुनेमा सदरमुकाम बेनी स्थित कालीपुलका २७ जना, मालिका गाउँपालिका– ७ बिमका २४ जना र मंगला गाउँपालिका–५ अर्मनका ९ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गयराती पर्वतको जलजला गाउँपालिका– ३ को माटेपानी नजीकैको भीरबाट खसेको पहिरोले कालीगण्डकी नदीको बहाब बेनी नगरपालिका–८ कालीपुल बजारतर्फ आउँदा नदीको छाल सहितको बाढीले ६ परिवारको घरमा क्षति पु¥याएको थियो भने ३ जना घाईते भएका थिए ।

बाढी बजारमा पसेर घरमा क्षति पुगेका ६ घरका २७ जना विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार, मालिका गाउँपालिका–७ बिमको आस्वाङ्ग बस्ती भन्दा माथिबाट ढुंगा खसेर एक घर पूर्ण रुपमा क्षति भएको छ भने अन्य ६ घर उच्च जोखिममा परेका छन् । बिममा २४ जना विस्थापित भएर सुरक्षित स्थानमा सरेका छन् । त्यसैगरि मंगला गाउँपालिका–५ अर्मन ज्याउरेमा पहिरोको कारण दुई तले घर उच्च जोखिममा परेपछि ९ जना विस्थापित भएका छन् ।