संघर्षका पाइला :‘जस्ले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’ (भिडियो र तस्बिर सहित)

  • ११ भाद्र २०७८, शुक्रबार
  • 1622 पटक पढिएको

कमल खत्री
बेनी, ११ भदौ ।  रघुगंगा गाउँपालिका–८ पात्लेखर्क स्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहनुभएका मिलन छन्त्याल ४५ बर्ष उमेर पार गर्नुभयो । युवा अवस्थाको करिब १५ बर्ष प्रवासमा जीवन विताउनुभएका छन्त्याल बिगत ५ बर्षदेखि गाउँका पाखा पखेरा र बनजंगलतीर भेडीगोठमा व्यस्त हुनुहुन्छ । युवा अवस्थाको प्रवासी समय मलेसियाका ठुला शहरहरुमा विताउनुभएका छन्त्यालले आत्मनिर्भरताको बाटो पहिल्याउँदै कठिन र संघर्षयुक्त पेसा भएपनि आफ्नै जन्मथलोको सम्भावनालाई सम्हाल्न पुग्नुभएको हो ।

‘‘बर्षौ विदेशमा बसेँ, आम्दानी सन्तोषजनक नै थियो, तर घरपरिवार सबैबाट टाढा संधैभरी भैरहन मन लागेन, विकसित मुलुकको जीवनशैलिमा घुलमिल भएपनि त्यसलाई त्यागेर जंगलतीरको गोठको दैनिकीलाई रोजेको हुँ’’–छन्त्यालले भन्नुभयो । भेडापालन फार्म नै दर्ता गरि व्यावसायिक भेडापालन सुरु गर्नुभएका छन्त्यालको फाममा अहिले २५० बढी भेडाबाख्रा छन् । घरमा पुख्यौली रुपमा हुदै आएको निर्वाहमुखी भेडाबाख्रा पालनमा करिब रु ७ लाख बढी लगानी थपेर भेडाबाख्राको संख्या बढाएको छन्त्यालले बताउनुभयो ।


५ बर्षदेखि भेडापालन गर्दै आउनुभएका उहाँले बनजंगलमा घुम्ती गोठ राख्दै आउनुभएको छ । भेडापालनबाट सन्तोषजनक आम्दानी हुने बताउँने छन्त्यालले उत्पादन भएका भेडाबाख्राको लागि बजारको अभाब नभएको अनुभव सुनाउनुभयो । उहाँका अनुसार, भेडा, खसी, साँढ, बोका खरिदका लागि ग्राहक गोठमा पुग्ने गरेका छन् । प्रवासबाट गाउँ फर्किएपछि गोठालो दैनिकीमा पस्नुभएका छन्त्यालले आफ्नै ठाउँमा स्वरोजगार बन्न पाउँदा खुसीको महसुस हुने बताउनुहुन्छ ।


‘‘स्वदेशमा रहँदा यहाँका सम्भावनालाई ख्यालै गरिएन, बाउबाजेले सम्हालेका गोठहरुबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने अठोट लिएर विदेशको फन्को मारेर गोठमा फर्किएको हुँ, विकसित मुलुकको जिवनशैलिबाट अनकन्टार जंगलका यात्रा पक्कै कठिन थिए, तर आजभोली सामान्य लाग्छ’’– उहाँले थप्नुभयो । पात्लेखर्ककै दानबहादुर गर्वुजाले समेत प्रवासमा आर्जन गरेको कमाईलाई गाउँमै भेडापालनमा लगानी गर्नुभएको छ । रोजगारको शिलसिलामा ८ बर्ष सम्म इराक बसेर फर्कनुभएका गर्वुजाले रु १३ लाख लगानीबाट भेडापालन सुरु गर्नुभएको थियो ।


गर्वुजाले भेडापालन थालेको ५ बर्षमा गोठमा भेडाको संख्या २५० नाघेको छ । हरेक बर्ष ८ देखि १० लाख सम्मका भेडाहरु गोठबाट विक्रि हुदै आएका छन् । एक सयको हाराहारीमा बार्षिक रुपमा भेडाहरु गोठमा थपिन्छन् । ‘‘स्वदेश फर्किएपछि आफ्नै ठाउँमा स्वरोजगार बन्न अभिप्रायले भेडापालन थालेको हुँ, अनकन्टार जंगल र हिमालका काखसम्म गोठहरु लैजाने गर्छौ, सोचेजस्तो सजिलो त छैन भेडीगोठ तर आफ्नै ठाउँमा आत्मनिर्भर बन्ने र रोजगार समेत सिर्जना हुने पेसा अगांल्न पाएकोमा सन्तुष्ट छु’’–गर्वुजाले भन्नुभयो ।


यहाँका भेडीगोठ छिसखर्क हुँदै चौरवन, च्यामली, रिखार हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म लैजाने गरिन्छ । घुम्ती भेडीगोठमा बस्नेहरुका लागि सञ्चारको पहुँचभन्दा टाढा, बनजंगल र भीरपहराको दैनिकी निकै कष्टकर र संघर्षमय हुन्छ । खाद्यान्न सामाग्री लिनका लागि गाउँ झर्ने बाहेक अन्य चाडपर्वदेखि सबै समय गोठमै व्यथित गर्नुपर्छ । गोठको दैनिकी सामान्य जिवनशैलि भन्दा भिन्न हुन्छ । यस्तै भिन्न जिवनशैलिमा घुलमिल छ ४२ बर्षिय जगत पुनको दैनिकी पनि । रघुगंगा गाउँपालिका–७ चिमखोला निवासी पुनले पनि विदेशको हण्डरपछि गोठाला जीवन सुरु गर्नुभएको हो ।


मलेसिया र कतारको आठ बर्ष लामो वैदेशिक रोजगारबाट रित्तो हात घर फर्कनुभएका पुनले आफ्ना दाजुको सहयोगमा ३० वटा भेडा खरिद गरेर भेडापालन थाल्नुभएको थियो । ‘‘ अरुको देशमा धेरै पसिना बगाए, भनेजस्तो कमाई भएन, घर फर्कदा म संग केहि थिएन, आफ्नौ पाखाबारीमा पसिना बगाउने निधो गरि रित्तोहात नै आएको हुँ, अहिले म संगै १७० वटा भेडा छन्, विदेशको हण्डरभन्दा यहाँ जंगल र भीर पहाडमा घुम्ती गोठको संघर्षमा आनन्दीत छु’’–पुनले भन्नुभयो । पुनले अहिले भेडापालनबाटै परिवारको जिविकोपार्जन गर्नुहुन्छ ।

७ बर्षदेखि भेडापालन गर्दै आउनुभएका उहाँले भेडापालनबाट भएको आम्दानीलाई समेत भेडाबाख्राको संख्या बढाउन लगानी गर्दै आउनुभएको छ । उत्पादन भएका भेडाबाख्रा विक्रिको लागि बजार खोज्दै जानुपर्ने झण्झट छैन उहाँलाई । साँड, भेडा, बाख्रा खरिदका लागि उपभोक्त गोठमै पुग्छन् । चाडपर्वको समय र थानहरुमा भाकल चढाउने समयमा गोठमा रहेका भेडाबाख्रा, बोका र साँढको खरिदका लागि उपभोक्ता गोठमै उक्लने गरेको पुनको भनाई छ । ‘‘ शहरको जस्तो सुख सयल त यहाँ छैन, तर आफ्नै ठाउँमा ढिँडो र फाँडो खान किन नपरोस, खुला आकासमुनी बस्न किन नपरोस, विदेशमा भन्दा यहि नै खुसी छु, पौरखका लागि पसिना बगाएको छु’’–पुनले थप्नुभयो ।


पुनका बाजेको पुस्ताले पनि भेडापालन गरेका थिए । बुबाको पालामा छाडेको भेडापालनलाई पुनः सुरु गर्नूभएका पुनलाई उहाँका घरपरिवारले राम्रो साथ र सहयोग दिएका छन् । छोराछोरी र श्रीमतीले गोठमा आलोपालो गरेरै भएपनि एक्लो हुन नदिएको पुनको भनाई छ । गर्मि याममा हिमालको फेदीसम्म पुराउने भेडागोठ हिउँदमा बेशीका फाँट सम्म झार्ने गरिन्छ । म्याग्दीको उच्च हिमाली भेगहरु भेडापालनको लागि सम्भावनायुक्त छन् ।
                                                          अस्थायी आश्रयस्थलको माग
बढ्दो आधुनिकता र वैदेशिक रोजगारको कारण संकटमा परेको परम्परागत रुपमा हुँदै आएको घुम्ती भेडाबाख्रा पालनलाई व्यवस्थित बनाउन यहाँकाट भेडाबाख्रा पालक कृषकहरुले माग गरेका छन् । परम्परागत घुम्ती गोठको अवस्थालाई सुदृढ गर्न नसकेको कारण गोठ बस्ने चलन हराउँदै जान थालेकाले यसको व्यवस्थापनको लागि घुम्ती गोठहरुमा अस्थायी टहराको निर्माण गर्नुपर्ने भेडापालक कृषकहरुको माग छ । बर्षातको बर्षा र हिउँदको हिउँ पर्ने समयमा गोठको जीवन अति कष्टकर हुने भएकाले घुम्ती गोठ रहने क्षेत्रमा आश्रयस्थल बनाईदिए आफुहरुलाई सहज हुने भेडापालक कृषक मिलन छन्त्यालको भनाई छ ।


‘‘ हामी पैसा कमाउनका लागि मात्रै गोठ चलाएका होइनौँ, आफ्ना पुर्खाले गरेको पेसाको निरन्तरताको लागि पनि गोठ बस्ने आँट गरेका हौँ, तर अहिलेसम्म सरकारी तवरबाट उल्लेख्य साथ र सहयोग पाएका छैनौँ’’–उहाँले भन्नुभयो । परम्परागत रुपमा चोयाँको मान्द्रोको गोठ बनाउने चलन छ । चोयाको मान्द्रोले दुई पाखा बनाएर गोठ बनाउँदा पानी नचुहिने भएकाले गोठका लागि मान्द्रो उपयोगी बन्दै आएको छ । पछिल्लो समय मान्द्रो बुन्ने पेसा र शिप हराउँदै जान थालेकाले कतिपय गोठहरुमा शहरबाट त्रिपाल खरिद गरि प्रयोग गर्ने गरिएको छ । घुम्ती रुपमा सञ्चालन हुने र चरनखर्कहरुमा गोठ सारिरहनुपर्ने भएकाले सरकारी तवरबाट टिनको अस्थायी टहरा निर्माण गरिदिए आफुहरुलाई राहत हुने चिमखोलाका भेडापालक कृषक जगत पुन बताउनुहुन्छ ।
                                                     रोग लागेमा उपचारको अभाबले ठुलो नोक्सानी
मिलन छन्त्यालको गोठमा गत बर्ष १ सय नयाँ भेडाबाख्रा जन्मिएका थिए । तर आधा भन्दा बढी छेराउटे रोग लागेर मरे । हरेक बर्ष गोठमा जन्मिएका भेडाबाख्रा मध्ये आधाको हाराहारीमा विभिन्न रोग लागेर मर्ने गरेको छन्त्यालको भनाई छ । ‘‘अनकन्टार जंगलबाट औषधीको खोजी कहाँ गर्नु, यता गोठ छाडेर शहर पुगेर औषधी ल्याउन सक्ने अवस्था नै हुँदैन, गोठमा सरकारी निकायबाट अहिलेसम्म कोही आएका छैनन्, रोग लागेमा स्थानीय जडीबुटी खुवाउने हो, कहिले त निको हुन्छ, कहिले औषधी नमिलेर होला झन समस्या बढ्दै जान्छ’’–उहाँले भन्नुभयो ।


चिमखोलाका जगत पुनको भेडागोठमा पनि हरेक बर्ष रोग लागेर भेडाबाख्राका पाठापाठी ठुलै संख्यामा मर्ने गरेका छन् । रोगको उपचार समयमै गर्न नसक्दा आफुहरुले ठुलो आर्थिक क्षति व्यहोर्दै आएको पुनको भनाई छ । दुर्गम र विकट क्षेत्रमा हुँदै आएका भेडापालनमा जंगली जनावरको आक्रमण अर्को समस्या हो । जंगलका बिचबिचमा गोठ राखीने भएकाले गोठको सुरक्षामा कुकुरको सहारा लिने गरिन्छ । गोठाला र कुकुरको निगरानीका बिचमा पनि बाघ, भालुले चरणक्षेत्र र गोठमै आएर भेडाबाख्रा खाने गर्छ । कृषकहरु सामु पशु विमाको पहुँच नपुगेको कारण जंगली जनावरको आक्रमण, रोगको संक्रमण, बाढी पहिरो र चट्याङ लागेर भेडाबाख्रा मर्दा उनीहरुले ठुलो आर्थिक क्षती व्यहोर्नुपर्ने बाध्यता छ ।
                                                      गाउँपालिकाले दियो औषधी र उपकरण
भेडापालनको लागि सम्भावनायुक्त मानिएको म्याग्दीको रघुगंगा गाउँपालिकाले भेडापालक कृषकहरुलाई औषधी र मेसिन उपकरण सहयोग गरेको छ । गत आबमा गाउँपालिको भेडापालन कार्यक्रमबाट रु १८ लाख ६६ हजार बराबरको औषधी, उन काट्ने र खसी बनाउने मेसिन लगायतका सामाग्री सहयोग गरेको हो ।

गाउँपालिकाभित्र रहेका सबै भेडापालन गर्ने कृषकहरुलाइृ समेटेर समूह गठन गरि गोठ सुधार, गोठका लागि शौचालय निर्माण, उन काट्ने र खसी बनाउने उपकरणमा सहयोग गरिएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकार मार्फत प्राप्त ससर्त अनुदान रु १० लाख, गाउँपालिकाको रु ४ लाख र समुहमा आबद्ध कृषकको ४ लाख ६६ हजार लगानीमा भेडापालन प्रवद्धर्न र व्यवस्थापनको लागि खर्च गरिएको हो ।