पहिरोले थुनिएको रघुगंगा नदीको अवस्था यस्तो छ (फोटो फिचर)

  • १० भाद्र २०७८, बिहीबार
  • 961 पटक पढिएको

बेनी १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका ६ मुलपानी र ७ नम्बर वडा गौडामुनीको सिमानामा पहिरो खसेर रघुगंगा नदीमा ठुलो तलाउ बनेको छ । पानी ओभरफलो भएर बग्न थालेपनि करिब  एक किलाेमिटर लामो तलाउको सतह घटेको छैन । बुधवार राती गएको पहिरोले केहि समय नदीको अधिकाँश पानी थुनिएको स्थानीयबासीको भनाई छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको पहिरो खसेर रघुगंगा नदी थुनिएर तलाउ बनेको हो । थुनिएको ठाउँबाट पानी ओभरफलो भएर बग्न थालेपनि थुनिएर बनेको तलाउको सतह नघटेकाले सम्भावित जोखिम कायमै रहेको स्थानीय युवा प्रदिप पाईजाले जानकारी दिनुभयो ।

एकैपटक थुनिएको ठाउँबाट तलाउ फुटेमा तटिय क्षेत्रमा रहेका बस्तीमा जोखिम हुने खतरा रहेको उहाँले बताउनुभयो । चिमखोलामा रहेका सुरक्षाकर्मीको टोली र स्थानीय युवाहरुले थुनिएको तलाउको स्थलगत निरिक्षण समेत गरेका छन् । भिरालो खोलामा तलाउ बनेकाले जुनसुकै समयमा पनि फुट्नसक्ने खतरा रहेको छ । धौलागिरि हिमालको फेदी हुँदै बग्ने रघुगंगा कालीगण्डकी नदीको सहायक नदी हो । नदी थुनिएको ठाउँमा वरपरको जमिन जलमग्न भएको छ ।  नदी थुनिएको भन्दा तल्लो क्षेत्रमा ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको बाँध निर्माणाधिन अवस्थामा छ भने नदीको तटिय क्षेत्रमा गलेश्वर बजार पर्छ । बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका ३ को तिलकेनीमा रघुगंगा नदी कालीगण्डकीमा मिसिन्छ ।

यसैबिच जिल्ला प्रशासन कार्यालयले नदीको टटीय क्षेत्रमा रहेका बजार र बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । थुनिएको नदीको एक साईटबाट पानी बगीरहेको भएपनि पहिरोको थप जोखिम रहेको र तलाउ फुट्न सक्ने जोखिम रहेकाले रघुगंगा र कालीगण्डकी नदीको तटिय क्षेत्रमा बसोबास र आवत जावत गर्ने नागरिकलाई सतर्कता अपनाउन प्रशासनले सार्वजनिक रुपमा अनुरोध गरेको छ ।

 

तस्बिर प्रदिप पाईजा