मास्क एक फाइदा अनेक

  • १० भाद्र २०७८, बिहीबार
  • 984 पटक पढिएको

 सुजन पाैडेल ।  झट्ट हेर्दा मास्क सामान्य भए पनि यसका फाइदाहरू अनेक छन् । मास्कले कोरोना संक्रमण मात्रै नभई अन्य श्वास–प्रश्वासको माध्यमबाट सर्ने सबै रोगको संक्रमणबाट समेत बचाउँछ । त्यसैगरी मास्कले बाहिरी वातावरणमा रहेका सूक्ष्म जैविक कणहरूबाट सुरक्षा प्रदान गर्छ । अहिले मास्क सबै स्थानमा सर्वसुलभ रूपमा पाउन सकिन्छ । हाल देशका विभिन्न स्थानमा मास्क वितरण अभियान पनि भइरहेका छन् । सरकारले पनि मास्कको सप्ताहव्यापी अभियान नै चलाएको छ । कोरोना महामारीको यस्तो प्रतिकूल समयमा मास्कले प्रभावकारी रूपमा कोरोना संक्रमणलाई नियन्त्रण गर्ने भएकाले यसको प्रयोग दिन–प्रतिदिन बढ्दै गइरहेको छ । मास्क अहिले प्रत्येक नागरिकका लागि अनिवार्य बनेको छ ।

कोरोना संक्रमित व्यक्तिले कुरा गर्दा, खोक्दा, हाच्छ्युँ गर्दा निस्कने थूकका छिटामार्फत कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । मास्कले यस्ता छिटाहरू रोक्ने काम गरी सुरक्षा प्रदान गर्छ । तर, आजकाल मास्कको प्रयोगमा बेथिति र लापरवाही बढ्दै गइरहेको छ । आजकाल कतिपय मानिसहरूले मास्कलाई चिउँडोमा लगाउने, मुख मात्र छोपिने गरी लगाउने र अझ मास्क नै नलगाई हिँड्ने जस्ता लापरवाही प्रवृत्तिले गर्दा नेपालमा कोरोना संक्रमणदर पुनः दिन–प्रतिदिन उकालो लागिरहेको छ ।

‘नेपाल मास्क सप्ताह’ अभियान सरकारले खोपको व्यवस्थापनसँगै सुरु गरेको छ । सरकारले यस अभियानअन्तर्गत सबै नागरिकलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने र मास्कको प्रयोगलाई अनिवार्य गराउने लक्ष्य राखेको छ । सरकारको यस्तो सकारात्मक अभियानमा सबै तह र नागरिकको साथ मिलेमा फैलन लागेको कोरोनाको तेस्रो लहरबाट हुने संक्रमणदर र मृत्युदरलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

पालले अब मास्कको अनिवार्य प्रयोग र अन्य स्वास्थ्य मापदण्डको उचित रूपमा पालना गर्न सकेको खण्डमा पहिलेको जस्तो आर्थिक र मानवीय क्षति भोग्नु पर्दैन । उचित स्वास्थ्य मापदण्ड अपनाउन नसकेको कारण नेपालमा कोरोनाले यसअघि महामारीको रूप लिएको थियो ।
अहिले नेपालका धेरै नागरिकले कोरोनाको खोप लगाएका छन् । धेरै संक्रमित भएर निको भएका छन् । तर, खोप लगाएका र एकपटक संक्रमण भएर निको भएकाहरूमा अब संक्रमित भइँदैन भन्ने भ्रम बढ्दै गएको छ । अझ खोप लगाएका कतिपयले त स्वास्थ्य मापदण्ड नअपनाई बिनामास्क हिँडडुल गर्ने प्रवृत्ति बढेको छ । यस्तो प्रवृत्तिले कोरोनाको तेस्रो लहर फैलन सक्ने सम्भावनालाई अझ बलियो बनाइरहेको छ ।

कोरोनाको दुवै मात्रा खोप लगाएका कतिपय नागरिकमा लापरवाहीका कारण पुनः कोरोनाको संक्रमण देखिन थालेको छ । त्यसकारण अब सबै नागरिकले मास्कको उचित प्रयोग र स्वास्थ्य मापदण्डको पालनामा नियमितता अपनाउनु आवश्यक छ । नियमित साबुनपानीले हात धुने, गुणस्तरीय स्यानिटाइजरको प्रयोग गर्ने र राम्ररी नाक, मुख छोपिने गरी मास्कको प्रयोग गर्नुपर्छ । काराेबार दैनिक ।