रायखोरको पहिरोले थुनिएको रघुगंगा नदी ओभरफलो भएर बग्न थाल्यो, तलाउको सतह घटेन

  • १० भाद्र २०७८, बिहीबार
  • 1167 पटक पढिएको

म्याग्दी १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाको रायखोरमा पहिरो खसेर थुनिएको रघुगंगा नदीको पानी ओभरफलो भएर बग्न थालेको छ । बुधवार राती गएको पहिरोले केहि समय नदीको अधिकाँश पानी थुनिएको थियो । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको पहिरो खसेर रघुगंगा नदी थुनिएर तलाउ बनेको छ । रघुगंगा गाउँपालिकाको ६ र ७ नम्बर वडाको गौडामुनी भन्ने ठाउँको सिमानामा थुनिएको खोला आज विहानदेखि ओभरफलो भएर बग्न थालेपनि थुनिएर बनेको तलाउको सतह नघटेको स्थानीय युवा प्रदिप मगरले जानकारी दिनुभयो ।


उहाँका अनुसार, ५ सय मिटर बढी लामो तलाउ बनेको छ । अहिले पहिरो खसेर थुनिएको ठाउँबाट पानी ओभरफलो भएर बग्न थालेको छ । एकैपटक थुनिएको ठाउँबाट तलाउ फुटेमा तटिय क्षेत्रमा रहेका बस्तीमा जोखिम हुने खतरा रहेको मगरले बताउनुभयो । पहिरो निरन्तर खसीरहेकाले थप जोखिम रहेको उहाँको भनाई छ । धौलागिरि हिमालको फेदी हुँदै बग्ने रघुगंगा कालीगण्डकी नदीको सहायक नदी हो ।

नदी थुनिएको ठाउँमा वरपरको जमिन जलमग्न भएको छ । तलाउ भरिएर ओभरफलो हुन थालेपनि जोखिम कायमै रहेको मगरले बताउनुभयो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले नदी थुनिएको खबर पाउने बित्तिकै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको बताउनुभयो । नदी थुनिएको भन्दा तल्लो क्षेत्रमा ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको बाँध निर्माणाधिन अवस्थामा छ भने नदीको तटिय क्षेत्रमा गलेश्वर बजार पर्छ । बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका ३ को तिलकेनीमा रघुगंगा नदी कालीगण्डकीमा मिसिन्छ ।

तस्विर साैजन्य प्रदिप मगर