पर्यटकीयस्थल रिखार जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण, एकैदिन उद्घाटन

  • ९ भाद्र २०७८, बुधबार
  • 1105 पटक पढिएको

म्याग्दी ९ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रहेको पसिद्ध धार्मिक पर्यटकीय स्थल रिखार जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण गरिएको छ । कुइनेमंगलेको घ्यासीखर्कदेखि ढाँड, दुवाडी, पात्लेखर्क हुँदै रिखार जाने पदमार्गमा रहेका छहरेखोला र बगरखोलामा अस्थायी काठे साँघुलाई विस्थापित गरि झोलुङ्गे पुल निर्माण गरिएको हो ।


पात्लेखर्कदेखि रिखार जाने पदमार्गमा पर्ने बगरखोलामा रु ४६ लाख ७१ हजार लागतमा ७१ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । नेपाल सरकारले उपलब्ध गराएको ससर्त बजेटबाट गाउँपालिको सञ्चालन गरेको यस योजनमा उपभोक्ताले रु ९३ हजार बराबरको श्रमदान गरेका छन । यस खोलामा हरेक बर्ष वारपारको लागि काठे साँघु बनाउने गरिएको थियो ।


जनैपूर्णिमा पर्वको अवसरमा बिशेष पुजा हुने रिखार जाने भक्तजनहरुको सुविधाका लागि हरेक बर्ष अस्थायी साघुँ बनाउँदा करिब ३० हजारको हाराहारीमा खर्च हुँदै आएकोमा झोलुङ्गे पुल निर्माण भएपछि साँघु बनाउनुपर्ने झण्झट हटेको र आर्थिक व्यभार समेत हटेको रिखार संरक्षण समितिका अध्यक्ष चित्र छन्त्यालले बताउनुभयो ।


त्यसैगरि छहरेखोलामा रु ४२ लाख ६९ हजार लागतमा ७४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । नेपाल सरकारको ससर्त अनुदानबाट गाउँपालिकाले सञ्चालन गरेको यस योजनामा उपभोक्ताले ८५ हजार बराबरको श्रमदान गरेका छन् । यो पुल निर्माणपछि घ्यासीखर्कदेखि ढाँड, दुवाडी, पात्लेखर्कका स्थानीयबासीलाई वारपार र आवतजावतका लागि सहज भएको छ भने रिखार जाने भक्तजनर पर्यटकहरुलाई समेत सुविधा पुगेको छ ।
दुबै पुल निर्माणमा गैर सरकारी संस्था मिलन म्याग्दीले प्राविधिक सहजीकरण गरेको थियो । दुबै झोलुङ्गे पुलको एक कार्यक्रमका बिच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले उद्घाटन गर्नुभएको छ । झोलुङ्गे पुल निर्माणले स्थानीयबासीलाई खोलामा वारपार गर्न साँघु तर्नुपर्ने बाध्यता अन्त्य भएको बताउँदै रिखारको पर्यटन विकासमा समेत सहयोगी बनेको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले उल्लेख गर्नुभयो ।
उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य यामकुमारी घर्ति गोतामे, वडा सदस्य नरप्रसाद छन्त्याल लगायतको सहभागीता रहेको थियो । बगरखोला पुल निर्माण उपभोक्ता समितिका सचिब विवस फगामी र छहरेखोला पुल उपभोक्ता समितिका अध्यक्ष अविन्द्र छन्त्यालको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।