नाङ्गी बराहीमा जनैपूर्णिमा पुजा स्थगीत
- ४ भाद्र २०७८, शुक्रबार
- 1201 पटक पढिएको
बेनी, ४ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाङ्गीमा मा अवस्थित पवित्र थार्मिक स्थल नाङ्गी बराही थानमा जनैपूर्णिमा पर्वको अवसरमा हुने विशेषपुजा स्थगीत गरिएको छ । यस बर्ष कोरोना संक्रमणको जोखिमका कारण भदौ ६ गते परेको जनैपूर्णिमाको अवसरमा कुनैपनि पुजा आजा नहुने र सबै पुजाआजा स्थगीत गरिएको पुजा समितिका संयोजक खरबहादुर गर्वुजाले जानकारी दिनुभयो ।
पुजा समिति र सर्वपक्षिय समितिको बैठकले गाउँमा समेत कोरोनाको संक्रमण देखिएको र बाहिरबाट पुजाको लागि मानिसहरुको भिड लाग्दा संक्रमण थप फैलन सक्ने भएकाले यस बर्ष नाङ्गी बराहीमा पुजा नगर्ने निर्णय गरिएको जनाईएको छ । नाङ्गी बराहीमा अघिल्लो बर्ष समेत कोरोना महामारीको कारण जनैपूर्णिमा पुजा बन्द गरिएको थियो । बराही मातालाई क्षमा याचना गर्ने र बर्षौदेखि हुँदै जनैपूर्णिमामा हुँदै आएको पुजालाई कोरोना महामारीको कारण बन्द गरिएको संयोजक गर्वुजाले बताउनुभयो ।
नाङ्गी बराही थानमा पुजा र तलाउमा स्नान गरेमा मनोकांक्षा पुरा हुने भएपछि हरेक बर्ष यहाँ जनैपूर्णिमाको अवसरमा विशेष पुजा हुँदै आएको थियो । जनैपूर्णिमाका दिन विशेष पुजा हुने यस मन्दिरमा आफुले आँटेको र चाहेको कुरा पुरा गराउनको लागि भाकल गर्न म्याग्दीको साथै , पर्वत, बागलुङ, कास्की लगायतका क्षेत्रबाट भक्तजनहरु पुग्दै आएका थिए ।