शिख र सिवाङमा नमूना आवासीय विद्यालय बनाउने योजना अलपत्र

  • ४ भाद्र २०७८, शुक्रबार
  • कमल खत्री
  • 1648 पटक पढिएको

बेनी, ४ भदौ । गण्डकी प्रदेश सरकारले म्याग्दीका दुई विद्यालयमा बनाउन लागेको नमूना आवासीय विद्यालयको योजना अलपत्र परेको छ । दुई बर्ष अघिबाट प्रदेश सरकारले जिल्लाको धवलागिरि गाउँपालिका ७ सिवाङमा रहेको हेम मावि र अन्नपूर्ण गाउँपालिका– ५ शिखमा रहेको शिख माविलाई नमूना आवासीय विद्यालयका लागि छनौट गरि पूर्वाधार निर्माण सुरु गरेको थियो । छनौटमा परेदेखि नै विद्यालयमा अस्थायी पूर्वाधारमा आवासीय सुविधा सहितको पठनपाठन सुरु गरिएको भएपनि प्रदेश सरकारले सुरु गरेका भवन निर्माण योजनाले पूर्णता नपाएपछि आवासीय विद्यालय कार्यक्रम नै प्रभावित बनेको छ । भवन निर्माणको आधा काम समेत नभएको र यस बर्ष आबश्यक पर्ने बजेटमा समेत भारी कटौती भएको शिख माविका प्रधानध्यापक केदार कार्कीले बताउनुभयो ।


‘‘गत बर्ष बजेट र ठेक्का प्रकृयामा भएको ढिलाईले समयमै काम हुन सकेन, योजनाको म्याद थप नहुँदा विनियोजित बजेटको ठुलो हिस्ता फिर्ता भयो, यो बर्ष बजेटमा भारी कटौती भएपछि भवन निर्माण योजना अलपत्र पर्ने देखिएको छ, यसबारेमा गाउँपालिका र प्रदेश सरकारको समेत ध्यानकर्षण गराईसकेका छौँ’’–प्रअ कार्कीले भन्नुभयो ।
गत बर्ष रु २ करोड बजेटबाट काम सुरु भएपनि २० प्रतिशत मात्रै काम भएको छ । पहिलो तला ढलान भएको छ । भवनको अन्य केहि काम भएको छैन । निर्माणधिन भवनको माथितर्फ संरक्षण नभएकाले पहिरो खस्ने जोखिम समेत बढेको छ । पहिलो बर्ष प्रदेशको रु ६० लाख र गाउँपालिकाको रु ५० लाख बजेटबाट एउटा भवन निर्माण भएको छ ।

करिब रु ९ करोड लागत स्टीमेट रहेको यस योजनामा यस बर्ष १० लाख मात्रै बजेट विनियोजन भएको जानकारी आएकाले योजना नै अलपत्र पर्ने जोखिम बढेको विद्यालयले जनाएको छ । आवासीय विद्यालयको पूर्वाधार योजनाको बजेट कटौती भएपछि मन्त्रालयमा पत्राचार गरि ध्यानकर्षण गराईएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण प्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो । पुरानो भवन भत्काएर नयाँ निर्माण सुरु भएपनि समयमै निर्माण नहुँदा आवासीय रुपमा बस्दै आएका विद्यार्थीहरुलाई राख्ने ठाउँको अभाब हुने देखिएको छ । ‘‘ गत बर्ष ३२ जनालाई आवासीय सुविधा दिएका थियौँ, यो बर्ष त्यो संख्या बढ्ने देखिन्छ, भौतिक रुपमा पठनपाठन सुरु भएपछि उनीहरुलाई कहाँ राख्ने ? अन्यौलता सिर्जना भएको छ’’–प्रअ कार्कीले भन्नुभयो ।


धवलागिरि गाउँपालिका–७ सिवाङमा रहेको हेम माविमा नमुना आवासीय विद्यालयको लागि पूर्वाधार निर्माण गर्न दुई बर्षदेखि सञ्चालन भएको क्रमागत योजनाको बजेटमा समेत भारी कटौती भएको छ । पहिलो बर्ष रु १ करोड र दोस्रो बर्ष रु २ करोड बजेट विनियोजन भएर भवन निर्माणको काम भैरहेको अवस्थामा यस बर्ष रु १० लाख मात्रै बजेट आएकाले योजनालाई पूर्णता दिन अन्यौलता सिर्जना भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।


‘‘प्राविधिक स्टिमेट अनुसार भवनलाई पूर्णता दिएर आवासीय विद्यालयको पूर्वाधार सम्पन्न गर्न थप करिब रु २ करोड बजेट आबश्यक पर्छ, प्रदेशले बजेटमा भारी कटौती गरेर बजेट पठाएको छ, पालिकाका आधा दर्जन योजनाहरुमा बजेट कटौती भएपछि मुख्यमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीको ध्यानकर्षण गराएका छौँ’’–अध्यक्ष पुनले भन्नुभयो ।
यस विद्यालयमा समेत दुई बर्षदेखि अस्थायी भवनमा आवासीय रुपमा विद्यार्थीहरु राखेर पढाउँदै आईएको छ । दुर्गम र घण्टौ लगाएर हिँडेर आउने बालबालिकाहरुलाई आवासीय विद्यालयको अवधारणले राहत मिलेपनि भौतिक पूर्वाधार निर्माणले पूर्णता नपाउँदा समस्या सिर्जना भएको विद्यालयले जनाएका छन् । गण्डकी प्रदेश सरकारले भौगोलिक रुपमा विकटता भएका क्षेत्रमा सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन र सहज रुपमा पठनपाठनको प्रवन्ध मिलाउन कक्षा ४ देखि १२ सम्मका बालबालिकाहरुलाई आवासीय सुविधाको व्यवस्था गर्न नमूना आवासीय कार्यक्रम सञ्चालन गरेको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l