प्रदेश सरकारबाट बजेट कटौती र म्याद थप नहुँदा म्याग्दीका दर्जनबढी योजना अलपत्र

  • ३ भाद्र २०७८, बिहीबार
  • 1593 पटक पढिएको

कमल खत्री
बेनी ३ भदौ । मंगला गाउँपालिका–३ बरंजामा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा छात्रबास भवन निर्माण योजना अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको यस योजनामा बजेट अभाबले योजना नै अलपत्र बनेको हो । रु २ करोड लागत अनुमान गरिएको यस योजनामा गत आर्थिक बर्षको अन्तमा रु ५० लाख बजेट विनियोजन भएपछि तत्कालिन सामाजिक विकासमन्त्री नरदेवी पुनले गत चैत ३१ गते योजनाको शिलान्यास गर्नुभएको थियो ।


मन्त्रीले शियान्यास गरेर भवन निर्माणको लागि जग खन्ने लगायतका काम सुरु गरिएको भएपनि बजेट नआएपछि योजना अघि बढ्न नसकेको विद्यालयले जनाएको छ । ‘‘जग खन्ने लगायतका काम भएपनि बजेट नआएपछि भुत्तानी हुन सकेन, यो बर्ष समेत बजेटको टुंगो लागेको छैन, योजनालाई कसरी अगाडी बढाउने अन्यौलता देखिएको छ’’–गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले भन्नुभयो । मंगलामा प्रदेश सरकारले सञ्चालन गरेका तीन वटा योजना अल्पत्र छन् । वडा नम्बर ४ बरंजाको धापुङ–सिले– अर्गल जोड्ने सडक समेत पुरा हुन सकेको छैन् ।

बजेट नपरेकाे मल्कबाङ सडक

 

कुहुँ सडक
रघुगंगाकाे बहुउदेश्यीय सभाहल
बेनी बसपार्क

गत बर्ष प्रदेश सरकारले उपलब्ध गराएको रु ५० लाख बजेटबाट निर्माण सुरु भएको यस सडकमा यस बर्ष प्रदेश सरकारले बजेट नराखेको कारण योजना सञ्चालनमा अन्योलता भएको प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले बताउनुभयो । ‘‘ यो बर्ष पनि बजेट आउने आश्वासनमा गत बर्षदेखि काम अघि बढेको हो, यो बर्ष कत्तिपनि बजेट आएको छैन, सडकको ट्याक निर्माणलाई पूर्णता दिने र स्तरोन्नती गर्नुपर्ने काम बाँकी छ’’– ढुंगानाले भन्नुभयो । गत आर्थिक बर्षमा सिमचोकदेखि कुहुँ–पुर्णगाउँ–टोड्के सडक स्तरोन्नतीका लागि गण्डकी प्रदेश सरकारको सम्पुरक अनुदान रु ५० लाख र गाउँपालिकाको रु ६५ लाख बजेट साझेदारीमा सञ्चालित योजना कोरोना लगायतको कारण प्रभावित बनेको भएपनि म्याद थप नहुँदा उक्त योजना अधुरै रहेको छ ।

‘‘करिब आधा मात्रै प्रगति भएको थियो, कोरोना लगायतका कारण समयमै सम्पन्न हुन नसकेपछि म्याद थपका लागि अनुरोध गरेका थियौँ, तर म्याद थप भएन, योजना अलपत्र बन्ने अवस्था आयो’’–उहाँले भन्नुयभो । सिमचोक–टोड्के सडकलाई भने प्रदेश सरकारकै समपुरक अनुदानको बजेटबाट पुनः निरन्तरता दिने तयारी छ । मंगला गाउँपालिकाको जस्तै रघुगंगा गाउँपालिकामा समेत प्रदेश सरकार मार्फत बजेट विनियोजन भएर सञ्चालन भएका तीन वटा योजना अधुरा र अलपत्र बनेका छन् । कोरोना लगायतका कारण समयमै सम्पन्न हुन नसकेका योजनाहरु सम्पन्न गर्न म्याद थप नभएको र बजेट समेत विनियोजन नभएकाले अलपत्र बन्न अवस्था आएको छ ।

सम्पन्न नभएका र म्याद थप नभएको कारण गाउापालिकाको केन्द्र मौवाफाँटमा बहुउदेश्यीय सभाहल, झिँ–पाखापानी सडक कालोपत्रे योजना र गलेश्वर–मौवाफाँट सडक स्तरोन्नती योजना अलपत्र बन्ने अवस्था आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । ‘‘तीन वटै योजना प्रदेश सरकारको अनुदानको बजेटबाट अघि बढेका थिए, सभाहलको पूर्णता दिन पालिका आफैले बजेट व्यवस्थापन गरेका छौँ, दुई सडकको अवस्था जिर्ण बनेको छ, बजेट नआएको कारण थप समस्या सिर्जना भयो’’–उहाँले भन्नुभयो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको नेतृत्वमा प्रदेश सरकारका मुख्यमन्त्री समक्ष अधुरा योजनालाई सम्पन्न गर्न ध्यानकर्षण गराईएको छ ।

गत आर्थिक बर्षमा पूर्वाधार विकास कार्यालयले कार्यान्वयन गर्ने गरि गण्डकी प्रदेश सरकारले समपुरककोषबाट बहुउदेश्यीय सभाहल बनाउन रु ७० लाख बजेट विनियोजन गरेको थियो । गाउँपालिकाले समेत थप ४० लाख बजेट विनियोजन गरी रु १ करोडमा ठेक्का र उपभोक्ता समिति मार्फत योजना सञ्चालन गरिएको थियो । कारोना नियन्त्रणको लागि जारी भएको लकडाउन लगायतको समस्याको कारण ६५ लाख ९२ हजार बराबरको मात्रै काम भएको र बाँकी कार्य सम्पन्न गर्न म्याद थप गर्न लिखित आग्रह गरिएको भएपनि म्याद थप नभएको र थप बजेट समेत व्यवस्थापन नभएको गाउँपालिकाले जनाएको छ ।

झिँ–पाखापानी कालोपत्रे सडक योजनालाई क्रमागत रुपमा सञ्चालन गर्ने गरि प्रदेशको समपुरक कोषको रु ५० लाख र गाउँपालिकाको रु ३३ लाख ५० हजार बजेटबाट काम सुरु भएपनि ५८ प्रतिशत वित्तिय प्रगति भएर बाँकी काम सम्पन्न गर्न म्याद थप नभएको र यो बर्ष बजेट समेत कटौती भएपछि समस्या भएको छ । गलेश्वर–मौवाफाँट सडक स्तरोन्नतीमा प्रदेश सरकारको ससर्त अनुदान रु ५० लाख बजेट विनियोजन भएपनि १५ लाख ५४ हजार मात्रै खर्च भएको थियो । पिप्लेका केहि स्थानीयको अवरोध र कोरोनाको लकडाउन लगायतका कारण समयमै सम्पन्न नभएको यस योजनामा समेत म्याद थप र नयाँ बर्षको लागि बजेटको सुनिश्चिता भएको छैन् ।

अलपत्र अवस्थामा पुगेका दुबै सडक थप जिर्ण बन्दै गएका छन् । धवलागिरि गाउँपालिकामा समेत प्रदेश सरकारले बजेट कटौती गरेपछि आधार दर्जन योजनाहरु अलपत्र र बजेटविहिन बनेका छन् । वडा नम्बर ७ सिवाङमा रहेको हेम माविमा नमूना आवासीय विद्यालयको लागि पूर्वाधार निर्माण गर्न दुई बर्षदेखि सञ्चालन भएको क्रमागत योजनाको बजेटमा भारी कटौती भएको छ । पहिलो बर्ष रु १ करोड र दोस्रो बर्ष रु २ करोड बजेट विनियोजन भएर भवन निर्माणको काम भैरहेको अवस्थामा यस बर्ष रु १० लाख मात्रै बजेट आएकाले योजनालाई पूर्णता दिन अन्यौलता सिर्जना भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

उहाँका अनुसार, क्रमागत रुपमा दुई बर्षदेखि बजेट विनियोजन हुँदै आएको र योजनाको काम सम्पन्न नभएको दरबाङ–बिम–मराङ–मल्कबाङ–पाखापानी सडक र मुना–लुलाङ–गुर्जा सडकको बजेट पुरै कटौती भएको छ । यि दुबै सडकमा गत बर्ष रु १ करोड २५ लाखका दरले बजेट आएको थियो । प्रदेश सरकारले नै सुरु गरेको वडा नम्बर ४ मुदीको बृहत खानेपानी र खाम्लामा सुरु भएको मुख्यमन्त्री जलवायु कृषि कार्यक्रममा समेत बजेट नआएको गाउँपालिकाले जनाएको छ । बेनी स्थित कालीपुल बसपार्क निर्माण योजनामा गत बर्ष रु ५० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले यस बर्ष बजेट कटौती गरेको नगरपालिकाले जनाएको छ । दुई बर्ष अघिबाट प्रदेश सरकारले जिल्लाको अन्नपूर्ण गाउँपालिका– ५ शिखमा रहेको शिख माविलाई नमूना आवासीय विद्यालयका लागि छनौट गरि पूर्वाधार निर्माण सुरु गरेको थियो ।

छनौटमा परेदेखि नै विद्यालयमा अस्थायी पूर्वाधारमा आवासीय सुविधा सहितको पठनपाठन सुरु गरिएको भएपनि प्रदेश सरकारले सुरु गरेका भवन निर्माण योजनाले पूर्णता नपाएपछि आवासीय विद्यालय कार्यक्रम नै प्रभावित बनेको छ । भवन निर्माणको आधा काम समेत नभएको र यस बर्ष आबश्यक पर्ने बजेटमा समेत भारी कटौती भएको शिख माविका प्रधानध्यापक केदार कार्कीले बताउनुभयो । गण्डकी प्रदेशमा सरकार परिवर्तन संगै आएको राजनैतिक अस्थिरताले आफैले सञ्चालन गरेका योजनाहरुमा प्रदेश सरकारले बजेट अदलबदल गर्ने कार्य हुन थालेको भन्दै स्थानीय सरकारका जनप्रतिनिधिहरु प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली समक्ष ध्यानकर्षण गराउन पुग्नेक्रम बढेको छ । समृद्द साप्ताहिकमा प्रकाशित