पहिरोले आवतजावत अबरुद्ध भएपछि राहुघाटको बाँध निर्माण रोकियो

  • ३ भाद्र २०७८, बिहीबार
  • 727 पटक पढिएको

म्याग्दी ३ भदौ । पहुँचमार्गमा पहिरो खसेपछि नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण कार्य रोकिएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिरोका कारण मजदूर र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण रोकिएको हो । बुग्लमा करिब ३०० मिटर सडक पहिरोले पुरेको छ ।

आयोजना व्यवस्थापक राज विष्टले पहिराका कारण गत असारदेखि रोकिएको बाँध र अडिट–१ बाट सुरुङ निर्माणलाई अझै सञ्चालन गराउन नसकिएको बताए । “अधेरीखोलाको अडिट–२ पुग्ने पहुँचमार्ग एक महिनापछि मर्मत गरेर दुईतर्फ सुरुङ निर्माण सञ्चालन गराएका छौँ”, उनले भने, “बर्खा नरोकिएसम्म बुग्लको पहिरामा सडक मर्मत गर्नसक्ने अवस्था छैन ।” ठेकेदारले बाँधमा जग्गा व्यवस्थापन र अडिट–१ खनेर सुरुङ निर्माणको तयारी गरेको थियो ।

बुग्लको पहिराले तुदी हाइड्रोपावरद्वारा सञ्चालित ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण पनि रोकिएको इञ्जिनीयर नरोत्तम कार्कीले बताए । पिप्लेको बगैँचास्थित आउटलेट निर्माणस्थलमा सक्रिय भएको पहिरोले तिल्केनीचौरमा राहुघाटको विद्युत् गृह निर्माणलाई समेत प्रभावित बनाएको छ । नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत शेयर लगानीमा विसं २०७३ मा स्थापना गरिएको रघुगङ्गा हाइड्रोपावर लिमिटेडसँग विसं २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जेपीले हालसम्म सर्चसाफ्ट र चार वटै अडिट (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) को ब्रेक थ्रु गरेको छ ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण गर्न लागिएको यस आयोजनाको हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको व्यवस्थापक विष्टले बताए । पैतालीस महिनाको ठेक्का सम्झौताको म्याद यही भदौमा सकिँदैछ । ठेकेदार कम्पनीले पर्याप्त मात्रामा मजदूर तथा उपकरण परिचालन नगर्दा र निर्माण सामग्री जुटाउन नसक्दा राहुघाट निर्माणमा ढिलासुस्ती भएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बताए । प्राकृतिक विपद् र कोरोना (भाइरस)को महामारीलाई ठेकेदारले ढिलाइको कारण भएको बताएको छ ।